नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते

7.8k Shares

नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार गरेको छ ।

रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

लोनियाले बिक्रीवितरणका लागि लागूऔषध घरमा राखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भइरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा हिजो बेलुका पाँच जनाको टोली पुगेको थियो ।

प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोली लागेको छ ।

घाइते भएका लोनियाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । खानतलासीका क्रममा ९३ पुरिया ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार