धनगढी– अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ ।
ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो ।
शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू-भदै नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् ।