काठमाडौं । सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङविरुद्ध ७० जनाभन्दा बढीले ठगीको उजुरी दिएका छन् ।
उनीहरूको उजुरीका आधारमा सोमबार तामाङसहित १२ जनालाई सीआईबीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका सबैविरुद्ध म्याद थपको तयारी भएको सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको देखिएको छ । प्रहरीका अनुसार करिब आठ अर्ब रुपैयाँ निक्षेप रहेको सहकारीबाट सात अर्ब बढी ऋण तामाङसहित उनका आफन्तले मात्रै लिएको पाइएको छ ।
डीआईजी सिंहले भने, “पीडितको संख्या थपिनसक्छ । अनुसन्धान सुरु भएको छ । थप कुरा खुल्दै जाला ।” तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख दुवै थिए । सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाए । घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए । सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन् ।