सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिराहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।
न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यस बेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’, उनले भने, ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’
अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।