आन्तरिक परीक्षा बिग्रिएको भन्दै तीन छात्राले गरे विष सेवन, एकको मृत्यु

12.1k Shares

महोत्तरी । बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन छात्राले आन्तरिक परीक्षा बिग्रिएको भन्दै विष सेवन गरेका छन्।

सोमबार राति बर्दिबास नगरपालिका–४ स्थित जंगलमा एकैसाथ विष सेवन गरेका उनीहरु मध्य एक छात्राको मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार जियोमेट्री (अमिन) प्रथम वर्षमा अध्ययनरत सिरहाको धनगढीमाई नगरपालिका–२ र महोत्तरीका छात्राले विष सेवन गरेका थिए।

विष सेवन गरेपछि तीमध्ये एकजना छात्रा मृत्यु भएको छ भने बाँकी दुई जनाको बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालमा उपचार जारी छ।

निर्मल लामा बहुप्राविधिक शिक्षालयले गत आइतबारदेखि आन्तरिक परीक्षा सञ्चालन गरिरहेको थियो। ती छात्राहरूले पहिलो दिनको परीक्षा बिग्रिएको महसुस गरेपछि मानसिक तनावमा रहेका कारण विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विष सेवन गरेकी एक छात्राले आफैं अस्पताल पुग्दा घटना सार्वजनिक भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए। "ती छात्राले विष सेवन गरेको जानकारी अस्पतालमा गराएपछि हामीले खोजी कार्य अघि बढायौं," उनले भने।

खोजीका क्रममा मंगलबार बिहान ११ बजे जंगलमा एक छात्रा अचेत अवस्थामा भेटिएकी थिइन् भने अर्को छात्रा बिहान ८ बजे अस्पताल पुगेकी थिइन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तीनैजना साथीले परीक्षा बिग्रिएको तनावले सामूहिक रूपमा विष सेवन गरेको देखिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

सम्बन्धित समाचार