फेरि लोडसेडिङ हुन सक्छ ? प्राधिकरण भन्छ– चैतपछि समस्या पर्न सक्छ

12.1k Shares

काठमाडौं । केही दिनयता नेपालमा फेरि लोडसेडिङ हुने सूचना आइरहेका छन् ।  सूचनामात्रै होइन उद्योगीहरूले आफूहरुले अहिले ८ देखि १० घण्टा दैनिक लोडसेडिङ खेप्नु परिरहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले पनि उद्योगहरुमा लोड कटौती हुने सूचना जारी गरिसकेको छ ।

प्राधिकरणले नै सूचना जारी गरेर लोडसेडिङ हुने भनेपछि त्यसले आम मानिसमा समेत यो हिउँदमा हामी फेरि लोडसेडिङ भोग्न बाध्य हुनुपर्ने हो त भन्ने चिन्ता थपिएको छ ।  १८ घण्टे लोडसेडिङ भोगेका उपभोक्ताहरु प्राधिकरणले सूचना निकालेपछि केही चिन्तित छन् ।

अघिल्ला वर्षहरुमा पनि उच्च माग हुने समयमा प्राधिकरणले उद्योग सञ्चालन नगर्न सूचना निकाल्ने गरेको थियो ।  यो वर्ष भने ‘ब्याक अप’को रुपमा रहेको माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ । 

४५६ मेगावाटको सञ्चालनमा आएको देशकै ठूलो आयोजनामा असोज ११ बाढीले क्षति पु¥याएको थियो । माथिल्लो तामाकोसीबाट हिउँदको समयमा ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्थ्यो । 

४५६ मेगावाटको तामाकोसीसहित अन्य केही आयोजनामा बाढीले क्षति बनाएका कारण अघिल्ला वर्षको हिउँदभन्दा यसवर्ष केही समस्या हुने देखिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् ।

प्राधिकरणको केन्द्रीय प्रणालीको जडित क्षमता ३४०३ मेगावाट पुगेको छ ।  तामाकोसीसहितका आयोजनामा समस्या हुँदा तथा १० प्रतिशत आयोजनामा कुन नै कुनै समस्या आइरहने हुँदा करिब २५–२६ सय मेगावाट प्रणालीमा उपलब्धता रहेको घोष बताउँछन् । 

हिउँद लागेसँगै पानी सुक्न थालेपछि प्रणालीमा करिब १३ सय मेगावाट मात्रै विद्युत् उपलब्ध हुन थालेको घोष बताउँछन् । 

“हाल प्रणालीमा करिब १३ सय मेगावाट जति उपलब्ध छ । यो प्रत्येक दिन घट्दो अवस्थामा छ । कालीगण्डकीको एउटा युनिट चलेको छैन,” घोष भन्छन् ।

उनका अनुसार, सबै पानीको बहावमा आधारित आयोजना भएका कारण हिउँदमा पानी सुक्दै गएका छन् ।  अघिल्लो वर्ष ८ सय मेगावाटको हाराहारीमा झरेको थियो । यसवर्ष १ हजारको हाराहारीमा स्वदेशी उत्पादन आउँछ भन्ने अनुमान छ ।

पीक समयको लोड २ हजारको हाराहारीमा तथा उत्पादन १ हजारमात्रै एवं जलाशययुक्त कुलेखानीका तीन विद्युत् गृहबाट १३२ मेगावाट उत्पादन हुँदा पनि ८ सय मेगावाटको हाराहारीमा अपुग हुन्छ ।  यसअघि नै माथिल्लो तामाकोसी नआउन्जेल उद्योगमा लोड कटौती हुने प्राधिकरणले सार्वजनिक सूचना निकालेको छ । भारतले केही समस्या परेर विद्युत् नदिएको खण्डमा लोडसेडिङ हुनेछ । 

सम्बन्धित समाचार