काठमाण्डौ – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा चलिरहेको कृषि प्रदर्शनी तथा कृषक मेलामा मानव र वन्यजन्तु द्वन्द्वका विषयमा बहस गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्त, कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका प्राध्यापक वासुदेव पोखरेल, डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्की बहसकर्ता हुनुहुन्थ्यो । बहसका क्रममा वक्ताहरुले राष्ट्रिय वन घट्दै र निजी वन बढ्दै जानु पनि मानव वन्यजन्तु द्वन्द्वको एउटा कारण रहेको बताउनुभएको छ ।
विशेषगरी बसाइँसराइका कारण पहाडी क्षेत्रमा जग्गा बाँझो हुने र जङ्गल बन्ने गरेका कारण मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उहाँहरुको भनाइ छ । पहाडी क्षेत्रमा बाँदरले आतङ्क मच्चाएको बताउँदै विज्ञले यसबाट जोगिन तत्कालका लागि बाँदरले मन नपराउने बालीको खेती गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै जङ्गलमा बाँदरले मन पराउने बोटबिरुवा रोप्नुपर्ने उहाँहरुको सुझाव छ । सकेसम्म जग्गा बाँझो नराख्नेतर्फ ध्यान पुर्याउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै छरिएर रहेका बस्तीलाई एकिकृत गराउन सके पनि मानव वन्यजन्तु द्वन्द्वमा कमी ल्याउन सकिने विचार व्यक्त गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा समस्या ग्रस्त जनावरलाई निगरानी गर्नका लागि स्याटेलाइट, ड्रोन तथा क्यामेरा ट्रयापिङ्गको प्रयोग गरिएको र यस्ता प्रविधिलाई अझ प्रभावकारी बनाउनपर्ने उहाँहरुको भनाइ छ । गएको मङ्सिर २९ गतेदेखि शुरू भएको कृषि प्रदर्शनी एवम् कृषक मेला आज सकिँदैछ ।