मौका परीक्षाको फारम समय थप

10.7k Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले ०५६ सालपछि अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । पहिलोपटक मंसिर २७ गतेसम्म फारम बुझाउने मिति तय गरेको बोर्डले पछिल्लो पटक समयावधि थपेको हो ।

आइतबार दिउँसोसम्म अनलाइनबाट मात्र १९ हजार ४ सय विद्यार्थीले परीक्षाको लागि शुल्क बुझाएका छन् । सम्बन्धित विद्यालयमा कति विद्यार्थीले फारमका लागि शुल्क बुझाए भन्ने तथ्यांक आएको छैन । विद्यालयले हार्डकपी बुझाएपछि मात्र यकिन तथ्यांक आउने उपनियन्त्रक घिमिरेले बताए ।

बोर्डले परीक्षा फारमको शुल्क १ हजार तोकेको छ । यदि ११ र १२ दुवैमा अनुत्तीर्ण भएको विद्यार्थीले भने २ हजार शुल्क तिर्नुपर्नेछ ।

विद्यार्थीले फारमको शुल्क अनलाइन वा सम्बन्धित विद्यालयमा गएर पनि बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

बोर्डका अनुसार फारम अनलाइनबाट डाउनलोड गरी भरेर विद्यालयमा बुझाउन सकिने छ । इन्टरनेट नभएको ठाउँ भएमा सम्बन्धित विद्यालयमा गएर फारम भर्न पाइने उपनियन्त्रक घिमिरेले बताए ।

कुन विषयमा अनुत्तीर्ण भएको हो सो थाहा नभएमा त्यसको विवरण पनि बोर्डले उपलब्ध गराउने छ । ‘११ र १२ मा कुन विषयमा अनुत्तीर्ण भएको थाहा नभएमा बोर्डले विद्यालयलाई उपलब्ध गराउँछ । रजिस्ट्रेसन नम्बरबाट बोर्डको वेबसाइटबाट पनि हेर्न सकिन्छ,’ उपनियन्त्रक घिमिरेले भने ।

गत मंसिर २७ गतेसम्म फारमका लागि शुल्क बुझाउन समय दिइएको थियो । र, २ पुसभित्र फारम भरेर सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउन बोर्डले भनेको थियो । तर सोचे अनुरूप विद्यार्थीले फारमका लागि शुल्क नबुझाएपछि समय थप गरिएको हो ।

अब आगामी १२ पुससम्म फारमको लागि शुल्क बुझाउने समय दिइएको छ भने १९ पुसभित्र फारम बोर्डमा पठाउन समय तोकिएको छ ।

‘कति विद्यार्थीले थाहा पाएनौं समय थप गर्नुपर्‍यो भनेर आउनु भयो । फारमका लागि पनि न्यून संख्या आएपछि समय थप गरिएको हो,’ उपनियन्त्रक घिमिरेले भने ।

बोर्डले अनुत्तीर्ण भएर बसेका विद्यार्थीलाई परीक्षाको लागि फारम भर्न आग्रह गरेको छ । ‘यो अन्तिम अवसर हो । कोही पनि विद्यार्थी परीक्षाबाट बञ्चित नहुन् भनेर समय थपेका छौँ । फारम भर्न विद्यार्थीलाई अनुरोध छ,’ उपनियन्त्रक घिमिरेले भने ।

सम्बन्धित समाचार