काठमाडाैं | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक डेढ लाख रकम बचत हुने गरेको जानकारी दिए ।
विसं २०७४ मा पौडेलले १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याएका थिए । पाँच गाईबाट व्यावसायिक पशुपालन शुरू गरेका पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेको उनले बताए ।
उनले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताए । 'साँझ र बिहानगरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु,' उनले भने, 'पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।'
फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उनले बताए । गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा एक लाख ५० हजार जति खर्च हुने गरेको छ । 'पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायत तरकारीसमेत लगाएको छु,' उनले भने, 'गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।' यहाँ उत्पादन हुने दूध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ । 'फार्ममा उत्पादन हुने तरकारी तथा दूध बिक्रीका लागि समस्या छैन,' उनले भने, 'तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दूध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।'
आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध ७५ र भैँसीको दूध १०० मा बिक्री हुँदै आएको बताए । 'गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु,' उनले भने, 'घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।'
पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताए ।