वायु प्रदूषण : स्वास्थ्यसँगै जलवायु परिवर्तनको जोखिम

14.4k Shares

काठमाण्डौ – कलङ्की चोकमा एकाबिहानै मास्क लगाएर टहल्दै गरेका राजाराम पौडेललाई आजकाल बिहान घर बाहिर निस्कनै मन लाग्दैन । तर व्यापार गर्ने उहाँलाई घर बाहिर निस्कनैपर्छ । श्वाससँगै प्रदूषित हावाको कण शरिरमा प्रवेश नगरोस भनेर मास्क लगाउनुहुन्छ । तर त्यसले पनि थेग्दैन ।

आँखा पोल्ने, लगातार खोकी लाग्ने, घाँटीमा घाउ हुने जस्ता समस्या उहाँका लागि सामान्य जस्तै भइसके । उहाँ भन्नुहुन्छ ‘धुवाँ र धुलोका कारण थकान र लगातार खोकी लाग्ने समस्या पनि बढेको छ । बाँच्नका लागि जेनतेन श्वास फेरिरहन बाध्य छौँ ।’

हिजोआज काठमाण्डौ उपत्यकाको हावा सँधैजसो प्रदूषित हुन्छ । पहिले जस्तो काठमाण्डौबाटै देखिने हिमालका दृश्य पनि सफा र स्पष्ट देखिँदैनन् । उहाँ भन्नुहुन्छ ‘प्रदूषण बढेर होला अब त केवल धमिला टुप्पा मात्र देखिन्छन् ।’

वायु प्रदूषणको असर अहिले हरेक व्यक्तिको दैनिक जीवनको अङ्ग बनेको छ । यो समस्या दिनप्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषण स्वास्थ्यको लागि ठूलो खतरा बनिरहेको छ, विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकामा ।

अनामनगरकी स्थानीय गीता कार्की आफू र आफ्नो पाँच वर्षको बच्चालाई रुघा खोकी र घाँटीमा समस्या भएपछि अस्पताल जानुभयो । परीक्षण गराउँदा डाक्टरले प्रदूषणका कारण घाँटीमा एलर्जी भएको बताए । बच्चालाई पनि खोकी र छाती दुख्ने समस्या देखिएको छ । यसको मुख्य कारण पनि वायु प्रदूषण नै भएको डाक्टरले बताएका कार्की बताउनुहुन्छ ।

सम्बन्धित समाचार