काठमाडौं । गत जेठ यता श्रमिक लैजान बन्द गरेको मलेसियाले विशेष कोटामा नेपालबाट श्रमिक लैजाने भएको छ । मलेसियन सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपालमा पनि कोटाका आधारित माग आउन थालेको हो ।
मलेसियास्थित दूतावासले यसैसाता मलेसियाबाट व्यवसायीले ल्याएको १ हजार ७८० श्रमिकको मागपत्र प्रमाणीकरण गरेको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । अब केही दिनपछि मागपत्रअनुसार म्यानपावर कम्पनीहरूले पूर्वश्रम स्वीकृति लिएर विज्ञापनहरू प्रकाशन गर्नेछन् ।
मलेसियाले आफ्नो वृक्षारोपण तथा कमोडिटी मन्त्रालय अन्तरगतको ‘प्लान्टेसन’ क्षेत्रमा श्रमिक लिन लागेको हो । मलेसियामा यो क्षत्रेमा करिब ४० हजार श्रमिकको माग रहेको अनुमान छ ।
मलेसियाले फागुन २०७९ मा देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने गरी १ जुन २०२४ /१८ जेठ २०८१) देखि श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो । तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले गत १५ सेप्टेम्बरमा समीक्षा गर्दै पुनः निरन्तरता दिने अर्को निर्णय गरेको छ ।
मलेसिया सरकारले लिएको कडा नीतिका कारण अहिले मलेसियामा कम्पनी छाडेर हिँड्ने र करार अवधि सकिएपछि पनि नफर्किने नेपालीको संख्या बढ्न थालेको छ । कतिपयले राम्रो जागिर भएकाले करार अवधि थपेर तत्काल नफर्किने गरी काम गरिरहेका छन् ।
मलेसियाको अर्थ मन्त्रालयका अनुसार कुल १ करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी कामदारलाई १५ प्रतिशतमा सीमित गर्ने नीति छ । मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी कामदार रहेको अनुमान छ, त्यसमध्ये अहिले ३ लाखभन्दा बढी नेपाली छन् ।