बागलुङ– धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।
‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’
तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् ।
यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताइन् ।
धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको एक लाखदेखि पाँच लाख रुपैयाँसम्म सुन्तला बिक्री गर्ने गरेका छन् ।