काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका छन् । लामिछानेलाई सरकारी पक्षबाट दुःख दिइएको उनले उल्लेख गरे ।
शुक्रबार बिहान डा. भट्टराई लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । उनलाई भेटेर फर्किएपछि भट्टराईले सञ्चारकर्मीसित भने, “यो अलिकति प्रतिशोधपूर्ण भयो भन्ने मैले बुझ्छु एउटा पाटो । अर्को पाटोचाहिँ सहकारीसम्बन्धी जुन समस्या छ, त्यसको जरो धेरै फैलिएको छ ।”
आफूमाथि राजनीतिक प्रतिशोध साधिएको लामिछानेले पनि बताएको उनले जानकारी दिए । “म (रवि लामिछाने)माथि यो राजनीतिक प्रतिशोध नै लिएको हो । मैले त सहयोग गरिरहेकै छु, गर्छु,” लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने ।
सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा लामिछाने प्रहरी हिरासतमा छन् । कास्कीसहित अरू जिल्लामा पनि उनीविरुद्ध पक्राउ पुर्जी र बयान लिने कार्य जारी छ । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट गएको कात्तिक २ गते उनलाई पक्राउ गरिएको हो ।
डा. भट्टराईले एक व्यक्तिलाई पक्राउ गरेर दुःख दिने र वास्तविक विषय ओझेलमा पार्ने कार्य गरिएको बताए । सहकारीपीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको उनको बुझाइ छ । सहकारीपीडितको समस्या छिटै समाधान गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए ।
निष्पक्ष सरकारी अनुसन्धानमा सहयोग गर्नुपर्ने र कानुनानुसार अघि भने बढ्नुपर्ने उनले बताए ।