सामान्य लेखपढ भएकी महिलामाथि ११ करोड बढी रकम अपचलनको आरोप

11.8k Shares

लमजुङ । लमजुङमा पनि सहकारी संस्थाको ठगी धन्दा एकपछि अर्को खुल्दै आइरहेको छ । एउटा सहकारीको ठगी काण्डमा संलग्न सञ्चालकहरूविरुद्ध जिल्ला अदालतमा बयान चलिरहेका बेलामा अर्को त्यस्तै एक सहकारीको ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको सार्वजनिक भएको छ ।

जिल्लाकै पहिलो कालिका बचत सहकारी र अन्य हाइफाई गर्ने दुई कर्पुरेश्वर र सम्पदा नामक सहकारी गण्डकी प्रदेशकै नमुना बनाउने भन्दै एकीकरण गरी कालिका बनेको सहकारीका सञ्चालकहरूले गरेको ठगीविरुद्ध यतिबेला जिल्ला अदालतमा बयान चलिरहेको छ । यही मौकामा जिल्लामा राम्रोको श्रेणीमा गणना भइरहेको जनकल्याण साकोसको मस्र्याङदी गाउँपालिका–८ स्थित ङादी सेवा केन्द्रबाट ११ करोड बढी रकम अपचलन भएको खुलासा भएको हो ।

जनकल्याण साकोसको लमजुङको जिल्ला सदरमुकाम बेंसीसहरमा मुख्य कार्यालय छ । जिल्लाका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गरिरहेको सो सहकारीको ङादी सेवा केन्द्रबाट ११ करोड २२ लाख ८१ हजार ९ सय ४४ रुपैयाँ ९४ पैसा रकम किर्ते कागजात तयार गरी हिनामिना गरिएको सार्वजनिक भएको छ । सो सहकारीको सदस्य नरहेकी मस्र्याङ्दी गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मधुमाया बगालेलाई किर्ते कागज गरी ठगेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै त्यस्तो खुलासा भएको हो । प्रहरीले बगालेसहित जनकल्याण साकोसको ङादी सेवा केन्द्रका प्रमुख वीरेन्द्र गुरुङलाई समेत पक्राउ गरेको जनाएको छ ।

बगालेविरुद्ध सेवा केन्द्र प्रमुख गुरुङसँग मिलेर किर्ते कागजबाट कृत्रिम ऋणीहरू खडा गरी सहकारीको ११ करोड २२ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना गरेको अभियोग छ । सो प्रकरणमा उनीहरूले भुलभुलेस्थित हिमालयन बैंकमा रहेको सहकारीको खाताबाट किर्ते हस्ताक्षर गरी त्यतिका रकम निकालेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । बगालेले त्यस्तो कार्य २०७२ सालदेखि नै सुरु गरेको बुझिन आएको छ ।

घर र माइती एउटै वडामा भएकी, सामान्य लेखापढी भएकी बगालेको कुनै पेसा व्यवसाय छैन । तर, उनको हाइफाई भने महिनामै लाखौं कमाउने खालको थियो । उनको व्यवहार देखेर चिन्नेजान्ने व्यक्ति पनि अचम्ममा परेका थिए ।

२०७२ सालदेखि सुरु भएको यस धन्दामा उनी र कर्मचारीको मात्र संलग्नता छ भन्नेमा विश्वस्त हुने आधार भने देखिँदैन । यस काण्डमा अन्य ४ देखि ६ जना व्यक्तिको समेत संलग्नता रहेको आशंका गरिएको छ । तर, ती व्यक्ति को हुन् ? र के कस्ता हैसियतका हुन् ? भन्ने उनीहरूको बयानका क्रममा खुल्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।

११ करोड रुपैयाँ बढी रकम अपचलन भएको सो सहकारीमा करिब ३ करोड रकममा मात्र बगालेको प्रत्यक्ष संंलग्नता रहेको देखिन आएको प्रहरी स्रोतको भनाइ छ । अन्य रकममा क–कसको हात रहेको हो ? आगामी दिनमा अनुसन्धानबाट थप पुष्टि हुँदै जाने प्रहरीले जनाएको छ ।

यसरी रकम हिनामिना गरेको जानकारी पाएपछि सहकारी संस्थाका सञ्चालकहरू आफैंले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सहकारी कार्यालयले यस सम्बन्धमा आवश्यक छानबिन गरिदिन सहकारी रजिस्ट्रारको कार्यालय पोखरालाई पत्राचारका साथ अनुरोध गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालयले छानबिनका लागि वित्तीय विश्लेषक निर्मल गौतमसहितको टोली खटाएको थियो । वित्तीय विश्लेषकको टोलीले सो सहकारीको ङादी सेवा केन्द्रको वित्तीय छानबिन गरी प्रतिवेदन तयार गरी राजिस्ट्रार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि प्रहरीले बगाले र सेवा केन्द्र प्रमुख गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

उनका अनुसार छानबिन प्रतिवेदनमा आरोपी बगाले र सेवा केन्द्र प्रमुख गुरुङले सहकारीको ११ करोड बढी रकम हिनामिना गरेको उल्लेख छ । प्रहरी नायब उपरीक्षक श्रीवास्तवले भने, ‘छानबिन प्रतिवेदनमा उनीहरूले सम्बन्ध कसुर गरेको र नगदसमेत अपचलन गरेकाले उनीहरूउपर सम्पत्ति शुद्धीकरण ऐन, २०६४ (संशोधनसमेत)को कसुर गरेको पाइएकाले सम्पत्ति शुद्धीकरणतर्फ समेत अनुसन्धान गरी पीडित सहकारीका नाममा रकम भराउनुपर्ने राय दिइएको छ ।’

जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले एक दिनअघि र पछि गरी पक्राउ परेका बगाले र गुरुङमध्ये बगालेलाई ६ दिन र गुरुङलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत लमजुङले प्रहरीलाई अनुमति दिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार