४८ अर्ब ५८ करोड रुपैयाँको आईपीओ पाइपलाइनमा

14.6k Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिसँगै ७६ वटा कम्पनीका ३३ करोड ३४ लाख कित्ता आईपीओ निष्कासनको ढोका खुलेको छ ।

पाइपलाइनमा रहेका ७६ कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार रुपैयाँ जुटाउने योजनाका साथ आईपीओ निष्कासन अनुमति मागेका छन् । जलविद्युत् आयोजना, औद्योगिक क्षेत्र र पर्यटन क्षेत्रलगायतका कुल ३३ करोड ३४ लाख ३६ हजार कित्ता सेयर सार्वजनिक निष्कासनमा आउने भएपछि लगानीकर्ता उत्साहित छन् ।

पाइपलाइनमा रहेका ७६ कम्पनीमध्ये होटल तथा पर्यटन क्षेत्रका सातवटा छन् । जसमा एपेक्स हस्पिटालिटी, होटल फोरेस्ट, अर्किड होल्डिङ, अन्नपूर्ण केबल, बन्दिपुर केबल, अकामा होटल र ठमेल प्लाजा होटल रहेका छन् ।

यसैगरी, हाइड्रोपावर क्षेत्रका ३७ वटा कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् । लगानी क्षेत्रका बरुण इन्भेस्टमेन्ट, सिड इनर्जी र शिवम होल्डिङ गरेर तीनवटा कम्पनी छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका १५ वटा, लघुवित्त क्षेत्रको एउटा, लघुबिमा क्षेत्रका तीनवटा र अन्य क्षेत्रका १० वटा गरी कुल ७६ वटा कम्पनीको आईपी पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कुल ७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५ सय ९६ रुपैयाँबराबरको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको तथ्यांक छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ११ महिनापछि नेतृत्व पाएसँगै आईपीओ आउने अपेक्षा गरिनथालेको छ । सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै बजारमा फेरि आईपीओको लहर आउने पक्का भएको छ ।

यसैबीच, नौ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ । गत वर्ष फागुनमा सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि रोकिएको आईपीओ निष्कासन बुधबारदेखि सुरु भएको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर अंकित मूल्य सय रुपैयाँका दरले वैदेशिक रोजगारमा रहेकाहरूका लागि खुलेको हो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार