काठमाडौं । पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्दको बहाना पारेर उच्च बनाएको हवाइ भाडामा केही कमी आएको छ । यात्रु घटेसँगै हवाइ भाडामा कमी आएको हो । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले कात्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको छ ।
‘ट्याक्सी वे’ निर्माणका कारण १० घण्टा विमानस्थल बन्द हुँदा क्यानले ३० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जान ‘सर्कुलर’ गरेको थियो ।
गौतमबुद्धमा नेपाल एयरलायन्ससहित पाँच विमान कम्पनीले उडान गरेपनि अन्य गएका छैनन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि हवाई कम्पनी गएका छैनन् ।
मुख्य विमानस्थल १० घण्टा बन्द भएको बाहना पारेर अन्तर्राष्ट्रिय विमान कम्पनीले बढाएको भाडादरमा सामान्य कमी भएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्सकी वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठ बताउँछिन् ।
“भाडादरमा सामान्य कमी आएको हो । करिब ५ प्रतिशत भाडादर घटेको छ,” उनले भनिन् ।