काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक हजारौं युवा जनशक्ति लाम लागेर विदेश गइरहेका छन् । अध्ययन होस् या रोजगारीको शिलशिलामा, युवाहरू विदेश जान हतार गरिरहेका देखिन्छन् । नेपालमा १२ कक्षा उत्तीर्ण गरेपछि कहाँ पढ्ने ? धेरै युवा पुस्ताको उत्तर हुन्छ– अध्ययनका लागि विदेश जाने । विदेश जान लागेका अधिकांश युवाले लिने देशको नाम हो अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान । भविष्य र अवसरको खोजीका लागि अध्ययन भिसामा होस् या कामदार भिसामा बिदेसिन बाध्य छन्, युवा ।
तीमध्येका एक युवा हुन्, सिन्धुलीका कमल कार्की । कार्की केही दिनअघि मात्रै अस्ट्रेलिया जानका लागि राजधानी काठमाडौं आइपुगे । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने हुटहुटी र घरको ऋण सँगै लिएर उनी त्रिभुवन विमानस्थलको लामबद्ध लाइनमा सामेल भए ।
काठमाडौं सिनामंगलमा भेटिएका कार्कीले अस्ट्रेलिया अध्ययन मात्रै नभई आफ्नो भविष्य सुन्दर बनाउन जान लागेको बताए । ‘देशमा हामीजस्ता युवालाई राख्ने कुनै योजना छैन, पढाइ सकेपछि पनि रोजगारीको ग्यारेन्टी छैन,’ कार्कीले भने, ‘अनि विदेशको सपना नदेखेर के गर्नु ?’
अर्घाखाँचीका सरथ नेपाली पनि विदेश जाने तरखरमा छन् । सरथ भने युनाइटेड अरब इमिरेट्स जानका लागि म्यानपावरमा आफ्नो राहदानी बुझाएर बसेका छन् । ‘यहाँ अवसर केही देखिएन, भएका साथीहरू सबै उतै छन्,’ सरथले प्रश्न गरे, ‘अवसर पाए पनि नेताका आसेपासेले मात्रै पाउँछन्, अनि किन बस्नु यहाँ ?’
दोलखाका २० वर्षका एक युवा भर्खरै १२ कक्षा पास गरेर प्राइभेट कन्सल्टेन्सीमा भाषा अध्ययन पूरा गरेर विदेश जान ठिक्क छन् ।
पुतलीसडकको एक प्राइभेट कन्सल्टेन्सीमा अध्ययन सकेका किशोर शर्मा अध्ययनका लागि जापान जान लागेको बताउँछन् । जापान नै किन भन्ने प्रश्नमा ती किशोर भन्छन्– देशमा बसेर कुनै भविष्य नदेखेपछि आफू बिदेसिन लागेको हुँ ।’ खोइ हाम्रो भविष्य ? यहाँ बसेर के गर्ने ? उनले यहाँको थिति र प्रणालीको विषयमा प्रश्न गरे । यी त प्रतिनिधि पात्र मात्रै हुन् । यी युवाजस्तै हजारौं युवा जनशक्ति विदेशमा भविष्य खोज्दै त्रिभुवन विमानस्थलमा लाम लागिरहेका भेटिन्छन् ।
त्रिभुवन विमानस्थलमा देखिने खचाखच लाइनमा हेर्ने हो भने अधिकांश १६ देखि ४० वर्ष उमेर समूहका जनशक्ति विदेश जान लामबद्ध छन् ।
त्यसो त, १२ कक्षा पास गर्नेबित्तिकै युवाको ध्यान विदेशतिर गइरहेको छ । एक त युवा जनशक्तिलाई नेपालमा राख्नसक्ने वातावरण सरकारले बनाउनसकेको छैन भने अर्कोतर्फ तिनै युवा शक्ति ‘फ्रस्ट्रेट’ (दिकदारी) बनेर सरकारप्रति नकारात्मक धारणा बनाइरहेका छन् । स्टडी पोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपालसहितका १४ देशबाट रहेको उल्लेख छ ।
नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १ दशमलव ७ प्रतिशत हिस्सा ओगटेको छ । सरकारले दक्ष जनशक्तिलाई नेपालमा रोजगार दिनसक्ने अवस्था छैन, जसका कारण युवाहरू बाध्य भएर हाल खाडीलगायत विश्वका ९९ वटा मुलुकमा पुगिरहेका छन् ।
गत वर्ष मात्रै काम र अध्ययनका लागि करिब ९ लाख युवाले देश छोडे । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा कामका लागि ९ लाख ७५ हजार युवा विदेश पुगेका छन् ।
त्यस्तै, गत वर्ष १ लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक छ । यो चानचुने संख्या होइन, देशको युवा उमेरसमूह १६ देखि ४० वर्षका करिब ७ प्रतिशत हो । वैदेशिक अध्ययनका लागि गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै १ लाख ५० हजार युवापुस्ता नेपालबाट बाहिरिएका छन् । आजको राजधानी दैनिकबाट