काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले १७ वर्षको बार्सिलोना सिनियर टिम यात्रालाई बिट मार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आफ्नो नयाँ यात्रा सुरु गरेका छन् ।
विश्व फुटबलका उत्कृष्ट खेलाडीको छवि बनाएका मेस्सी यति बेला नयाँ चुनौतीको सामना गर्न लिग वान क्लबमा छन् । उनले पीएसजीसँग सन् २०२३ सम्मको यात्रा तय गरेका छन् ।
मेस्सीले बुधबार पीएसजीसँग दुई वर्षको सम्झौता गरेका हुन् । पीएसजीको नयाँ यात्रा सुरु गरेका मेस्सीले अब बार्सिलोनामा जस्तै सम्मान पाउलान् या पाउँदैनन् भन्ने कुरा समर्थकहरुमा छ ।
पीएसजी अहिले विश्व फुटबलको धनी क्लबहरुमा पर्छ । पीएसजीमा युरोपमा चलेका खेलाडीहरु अनुबन्धित छन् । ब्राजिलियन स्टार खेलाडी नेयमार, फ्रान्सेली स्टार केलियन एम्बाप्पे, अर्जेन्टिनाका स्टार एन्जल डी मारिया, स्पेनका पूर्वकप्तान सर्जियो रामोसलगायत रहेका छन् ।
यस्तो अवस्थामा मेस्सीले टिममा कस्तो स्थान लिन्छन् भन्ने छ । उनी बार्सिलोनामा रहेको समयमा सँगै खेलेका नेयमार पनि पीएसजीमा नै भएका कारण दुवै खेलाडीले मिलेर पीएसजीलाई माथिल्लो स्थानमा पुर्याउनेछन् भन्ने सबैको अपेक्षा छ ।
मेस्सी सिनियर फुटबल करियरमा दोस्रोपटक ३० नम्बर जर्सीमा खेल्दै छन् । यसअघि, उनले बार्सिलोनामा सन् २००४–००५ मा पनि ३० नम्बर जर्सी लगाएर खेलेका थिए । त्यसपछि १९ नम्बरको जर्सी लगाए पनि पछि १० नम्बरको जर्सी पाएका थिए ।
त्यसो त खेलाडीको पहिचान जर्सीबाट हुने होइन । तर, विश्व फुटबलमा उनले १० नम्बर जर्सीमा आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । उनले बार्सिलोनाको लामो फुटबल जीवन पनि १० नम्बर जर्सीमा बिताए ।
पीएसजीमा अहिले १० नम्बर जर्सी ब्राजिलियन स्टार खेलाडी नेयमारले लगाएका छन् । उनले मेस्सीलाई १० नम्बर जर्सी दिन तयार भएको बताए पनि हालसम्म आधिकारिक रुपमा भने नेयमारले कुनै धारणा राखेका छैनन् ।
मेस्सीले अब ब्राजिलका स्टार खेलाडी मार्किनियुसको कप्तानीमा खेल्नुपर्नेछ । ६ पटकका बालोन’डी ओर विजेता मेस्सीका लागि बार्सिलोनामा भन्दा पीएसजीको यात्रा चुनौतीपूर्ण छ । क्लबले भने मेस्सीलाई राम्रो स्थान दिन खोजिरहेको छ ।
लामो समयपछि विश्वस्तरका खेलाडीहरु अनुबन्ध गर्न सफल भएको पीएसजीले मेस्सीलाई १० नम्बर जर्सीसहित कप्तानी दिने योजना रहेको स्पेनिस पत्रिका मार्साले जनाएको छ ।