काठमाडौँ। बागमती प्रदेश हस्तकला संघ, नेपाल र गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको संयुक्त आयोजनामा
अष्ट्रेलियाको सिड्नी शहरमा नेपाली हस्तकला प्रदर्शनी मेला २०२४ (बीटुबी) र (बीटुसी) आयोजना गर्ने भएको छ। नेपाल दिवसको २०२४को उपलक्ष्यमा सिड्नीको पररामत्तामा यही १८ देखि २० नोभेम्बर, (बि.सं. २०८१ मंसीर ४ देखि ५ सम्म) नेपाली हस्तकला प्रदर्शनी मेला २०२४ (बीटुबी) र (बीटुसी) आयोजना गर्न लागेको संघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
त्यस्तै नोभेम्बर २३, मंसीर ८ मा एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने नेपाल दिवस २०२४ को विशेष कार्यक्रम तुबालुंग पार्क, डार्लिंग हार्बर मा हुने र उक्त कार्यक्रममा नेपाली हस्तकला प्रदर्शनी र विक्रि समेत गर्ने कार्यक्रमको रहेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा बागमती प्रदेश हस्तकला संघबाट ९ वटा हस्तकला उत्पादन तथा निकासी व्यवसायीहरु विविध हस्तकलाका सामानहरुका साथ सहभागिता जनाउने छन्।
उक्त मेलामा धातुका सामानहरु, चांदीका गरगहनाहरु, पौभा थान्काहरु(चित्रकला), नेपाली हाते कागजका सामानहरु, ऊनी तथा फेल्टका सामानहरु, पश्मिनाका सामानहरु, माटो शेरामिक्सका सामान, नेपाली जुत्ता लगायत सामानहरुको प्रर्दशनी गरिने छ बताइएको छ। कार्यक्रममा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, नेपाल, अष्ट्रेलियाको महावाणिज्य दूतावास,नेपाल पर्यटन बोर्डलगायत सहयोगी संस्थाका रुपमा रहेको संघले जनाएको छ।