केपी ओलीको प्रधानमन्त्रीकालमा साढे ३ खर्बको व्यापार घाटा

12.4k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेपछिको समय अर्थात् गत साउनयता नेपालको कुल व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा कुल ३ खर्ब ९० अर्ब ७५ लाख २३ हजारको आयात भएको छ भने निर्यात ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँको मात्र भएको छ ।

भन्सार विभागको तथ्यांकनुसार गत वर्षको सोही अवधिमा आयातको हिस्सा ९० दशमलव ८९ प्रतिशत रहेकामा यसपटक आयातको हिस्सा बढेर ९१ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा निर्यातको हिस्सा ९ दशमलव ११ प्रतिशत रहेकामा १ दशमलव ८४ प्रतिशतले खुम्चेर ८ दशमलव ९४ प्रतिशतमा सीमित भएको छ ।

गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा आयातमा ४ दशमलव १७ प्रतिशतले कमी आएको छ भने निर्यात ६ दशमलव ११ प्रतिशले घटेको छ ।

आयात र निर्यातमा आएको कमीसँगै मुलुकको तीन महिनाको व्यापारको स्थितिमा पनि ४ दशमलव ३५ प्रतिशतले कमी आएको छ । मुलुकले गत वर्षको पहिलो तीन महिनामा कुल ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजारको वैदेशिक व्यापार गरेकामा यस वर्ष ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ ।

यसपटकको व्यापार घाटा भने गत आवको पहिलो तीन महिनाको तुलनामा घटेको छ । आव २०८०–८१ को पहिलो तीन महिनामा मुलुकले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटा बेहोरेका थियो ।

गत आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँबराबरको वस्तु आयात हुँदा यस वर्ष ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको मात्र वस्तु आयात भएको देखिएको छ ।

दसैं–तिहारको अवधिमा आयात बढ्नुपर्ने भए पनि गत १० देखि १२ असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले लोकमार्गहरू अवरुद्ध हुँदा पनि आयात प्रभावित भएको बताइएको छ ।

बाढीपहिरोले भारत पनि प्रभावित भएपछि उताबाट आउने सामान रोकेका कारणले र अरनिको लोकमार्गमा रहेका दुई पुल बाढीले बगाएका कारण चीनबाट आउने सामान पनि भन्सार पार नभएका कारण यस वर्ष आयातमा कमी देखिएको बताइएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार