प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन

13.6k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै विपक्षी दलहरूले ‘घेराबन्दी’ गर्ने प्रयास थालेका छन् । ओली सरकारको गलत कार्यशैलीको विरोध गर्दै विपक्षी दलहरूले उनको विरोधमा संगठित रूपमा आवाज उठाउँदै छन् । सरकारले सुशासनको पक्षमा काम नगरेको, भ्रष्टाचार, कुशासन, अनियमिततामा रमाउँदै जनताको चाहना र आवश्यकतानुसार काम नगरेको ठहर विपक्षी गठबन्धनको रहेको छ ।

ओली नेतृत्वको सरकार बन्नुअघि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बीचमा सातबुँदे सहमति भएको थियो । संसद्का दुई ठूला दलका बीचमा भएको सहमतिनुसार सरकार बने पनि सो सहमतिमा उल्लेख विषयहरू सरकार आफैंले कार्यान्वयन गर्नमा असफल रहेको बुझाइ विपक्षी गठबन्धनको छ ।

सरकार गठनअघि दुई दलका बीचमा भएको सहमतिमा मुख्यतः राजनीतिक स्थायित्वका लागि संविधान संशोधन, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण एवं सुशासनसहितका विषय उल्लेख गरिएको छ । तर, सरकारले भ्रष्टाचारी एवं अपराधीलाई संरक्षण गर्नुका साथै साठगाँठसमेत गरेको भन्दै विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेआम रूपमा ओली सरकारलाई यस्तो आरोप लगाउँदै आएका छन् । कोटेश्वर, पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा प्रचण्डले ओली सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा ओली लागेको आरोप लगाए ।

माओवादी केन्द्रले आउँदो १० कात्तिक (शनिबार) काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि पार्टी कार्यालयमा बसेको पार्टीको बाग्मती प्रदेश र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारबाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्नेगरी अघि बढेको बताए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार