अप्रेशनको तयारीमा रहेका विरामीलाई बेहोस् बनाउन मिल्छ कि मिल्दैन भनेर जाँच गर्नु झन् महत्वपूर्ण र संवेदनशील कुरा भएको एनेस्थेसिया डाक्टर एजेलीया अमात्य बताउनुहुन्छ । विरामीलाई बेहोस बनाउनुभन्दा अगाडि मुटु, फोक्सो, मृगौला वा अरु अंगहरुले कस्तो काम गरिरहेको छ, रगतमा केही खराबी छ छैन, सुगर, नुनको मात्राहरु कस्तो छ यी सम्पूर्ण कुराको जानकारी लिएपछि मात्र विरामीलाई अप्रेशनको लागि तयारी गरिन्छ । यदि खराबी छ भने त्यस अनुसारको उपचार गरी अथवा त्यसलाई कसरी न्यूनिकरण गरी अप्रेशन गर्न सकिन्छ भनी हेर्नुपर्ने हुन्छ । यसै विषयलाई लिएर डा. अमात्यसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० एनेस्थेसिया भनेको के हो ?
कुनै पनि सर्जरी गर्नु अगाडि विरामीलाई अप्रेशन अवधिभर बेहोस बनाउने अवस्था हो एनेस्थेसिया । एनेस्थेसिया आफैमा एउटा ठूलो दायरा भित्रपर्छ, जुन तिन किसिमको एनेस्थेसियामा पर्दछ । पहिलो पूरै शरीर बेहोस बनाएर गरिने जेनरल एनेस्थेसिया, दोस्रो कुनै पनि स्पेसीफिक अङ्ग लठ्याउने र अन्तिममा कुनै एउटा सिमित ठाउँमा मात्र लठ्याउने लोकल एनेस्थेसिया ।
० विरामीले अप्रेशन गर्नुभन्दा पहिला एनेस्थेसियाका डाक्टरलाई भेट्नु जरुरी छ ?
अप्रेशन गर्नुभन्दा अगाडि बिरामीले एनेस्थेसिया डाक्टरलाई भेट्नु जरुरी छ । कुनै पनि अप्रेशन गर्नु अगाडि ‘प्रिएनेस्थेसिया चेक अप’ गर्नु एकदमै महत्वपूर्ण हुन्छ । अप्रेशन गर्नु अगाडि सामान्य रगत जाँच, पिसाव जाँच गर्नु आवश्यक हुन्छ नै, त्यस बाहेक यदि कुनै विरामीको चिनीको अर्थात सुगर, प्रेसर थाइराइड आदिको समस्या छ भने पहिले एनेस्थेसिया डाक्टरलाई देखाई सबै कुरा ध्यानमा राखी अप्रेशन गर्दा अझै प्रभावकारी हुनेछ । साथै कुनै व्यक्तिको चुरोट, रक्सी या अरु कुनै मादक पदार्थ सेवन गर्ने गरिएको छ भने त्यही अनुसार एनेस्थेसिया औषधीको डोज मिलाउनु जरुरीहुन्छ ।
० विरामीलाई बेहोस बनाउन कस्ता समस्याहरु आइपर्न सक्छन् ?
विरामीलाई बेहोस पार्दा निकै ध्यान दिई औषधीको डोज दिने गर्छौ । एनेस्थेसिया फिल्ड एकदम एडभान्स भइसकेकोले पहिले जस्तो विरामी नउठ्ने हुँदैनन् । कुनै बेला विरामी अलि ढिलो उठ्छन् । कुनै क्रिटिकल अपरेशन छ भने अप्रेशन लगत्तै भेन्टिलेटरमा हाल्छौं र विस्तारै विरामीलाई उसको अवस्था हेरेर उठाउने गर्छौं ।
० एनेस्थेसिया प्रयोग गर्दा कस्ता सावधानीहरु अप्नाउनुपर्छ ?
सावधानीत अप्नाउनै पर्छ । हामीलाई एनेस्थेसियाको रेसिडन्सी ट्रेनिङ्गमा सिकाइएको छ कि कुनै पनि अप्रेशन गर्नु अगाडि एनेस्थेसिया मेसिन एनेस्थेसिया, एनेस्थेसिया औषधी र एकदम छुटाउन नहुने इमरजेन्सी औक्षधीहरु सबै चेक गरेर मात्रै एनेस्थेसिया सुरु गर्छौं । एउटा अप्रेशन सकियो र एनेस्थेसिया मेसिनमा कुनै समस्या छैन भनेर चेक नगरी अर्को अप्रेशन सुरु गर्दा समस्या आउन सक्छ । त्यति मात्र नभएर बेहोस बनाउँदा घाँटीमा पाइप हालेर सो पाइप भेन्टिलेटरमा जोड्नु पर्छ । कहिले काहिँ भेन्टीलेट गर्न गाह्रो हुन सक्छ । यस्तो समस्या ट्याकल गर्ने पनि एउटा पार्ट हो जुन हामी तिन वर्षे एनेस्थेसिया ट्रेनिङमा बारम्बार डिल गरेर सिकेका हुन्छौं ।
० जोखिमपूर्ण अनुभवहरु केही छन् कि ?
हामीले क्रिटीकल बिरामी जस्तै दम बढेको, मुटुको समस्या भएको बिरामीको अप्रेशनहरु गर्ने गरेका छौं । अप्रेशन अगाडि अप्रेशन गर्दा आईपर्ने समस्या सबै विस्तृतमा भनेर गर्दछौं । कहिले काहिँ इमरजेन्सी अप्रेशन गर्नु पर्दा धेरै रगतहरु चढाएर पनि रक्तचापलाई नर्मलमा राखेर एनेस्थेसिया दिई अप्रेशन गर्ने गरेका छौं ।
० एनेस्थेसिया प्रयोग पछि विरामीलाई पछि असर गर्छ कि गर्दैन ?
बेहोस बनाई अप्रेशन गरेको बिरामीलाई बेहोस गरेर उठाइसके पछि कुनै कुनै बिरामीमा रिङ्गटा लाग्ने, वाकवाक आउने समस्या देखिन्छ । तर, यो दुई–चार घन्टा पछि हराउने गर्छ । एनेस्थेसिया पछि त्यस्तो ठूलो समस्या खासै देखिँदैन । हामीले पोस्टअपमा मिनिमम ६ घन्टा अब्जर्भ गर्ने गर्छौं ।
० एनेस्थेसियाको भूमिका भनेको अप्रेशन थे्रटर भित्र मात्रै हो त ?
अझै पनि हामीहरु भ्रममा नै छौं । मेरो आफ्नै परिवारको सदस्यले पनि एनेस्थेसिया भनेको अप्रेशन थ्रेटरभित्र मात्र बुझ्ने गर्छन् । जुन बिलकुलै गलत हो । अप्रेशन गर्नु अगाडि बिरामीलाई जाँच गर्ने देखि लिएर अप्रेसन सकेको ६ घन्टादेखि कहिले काहिँ २४ घन्टासम्म पोस्ट अपमा क्लोज निग्रानीमा हाल्नु पर्ने हुन्छ ।
० सुमेरु अस्पतालमा एनेस्थेसियालाई चाहिने उपकरणहरु उपलब्ध छन् ?
सामान्यदेखि लिएर ठूला अप्रेशन जस्तै किड्नी ट्रान्स्प्लान्ट सुमेरु अस्पतालमा हामीले गर्दै आएका छौं । किनकी यहाँ एनेस्थेसियासँग सम्बन्धित सबै उपकरणहरु उपलब्ध छन् । एडभान्स; एनेस्थेसिया भेन्टिलेटर, भास्कुलर मनिटरिङ्ग र अप्रेशन पछि क्रिटिकल बिरामीलाई आईसीयुको फ्यासिलिटी पनि धेरै राम्रो छ ।
० बेहोस बनाउँदा कस्ता किसिमका औषधीहरु प्रयोग गरिन्छ ?
बेहोस पार्दा सामान्यतया व्यालेन्स एनेस्थेसिया भनेर दुखाई नहुने साथै कुनै बेला सास फेर्दा अप्रेशन गर्न गाह्रो हुने भएकोले मसल प्यारालाइसिस गर्ने औषधी र बेहोस बनाउन ग्यासहरु चलाउँछौं । त्यस बाहेक बिरामीको कन्डिसन हेरेर अरु अैषधी पनि चलाइन्छ । यो बिरामी बिरामीमा भर पर्छ । सुमेरु हस्पिटलमा छुट्टै एनेस्थेसियाको लागि अल्ट्रासाउण्ड मेसिन पनि छ । रिजनल एनेस्थेसिया दिँदा हामी अल्ट्रासाउण्ड चलाएर अप्रेशन गर्ने ठाउँ मात्र लठ्याएर अप्रेशन पनि गर्छौं ।
० नेपालमा एनेस्थेसियाहरु प्रयाप्त रुपमा छैन भनिन्छ नि ?
पहिले पहिले एनेस्थेसिया पढ्नेहरु निकै कम थिए । तर अहिले एनेस्थेसिया पढ्ने संख्या विस्तारै बढ्दै गएको देखिन्छ । किनकी एनेस्थेसिया अप्रेशनमा मात्र सिमित नभई क्रिटिकल कियरपेन मेडिसिन इत्यादिमा पनि जाने गरिन्छ ।
० किड्नी ट्रान्सप्लान्टको योजनाहरु छ कि छैन ?
सुमेरु अस्पतालमा कोभिड—१९ अगाडि पनि सफलतापूर्वक किड्नी ट्रान्स्प्लान्ट गरिएको थियो । कोभिड—१९ को दोस्रो लहर भन्दा अगाडि एउटा सफलतापूर्वक किड्नी ट्रान्स्प्लान्ट भयो । अब फेरि पनि किड्नी ट्रान्स्प्लान्ट बिस्तारै सुरु हुने अवस्थामा छ ।
० अन्तिममा छुटेका केही छन् कि ?
मेरो बिचारमा विरामीहरुलाई एनेस्थेसिया सम्बन्धी अवगत गराउनु एकदमै महत्वपूर्ण छ । एनेस्थेसिया भन्दैमा विरामी सुताउने र उठाउने मात्र नभई विरामीको दिमाग, मुटु, किड्नी सबैको फङ्सन ध्यानमा राखेर त्यही अनुसारको औषधि दिन्छौं । अप्रेशन गर्दा सर्जनले सर्जरी गरिसकेको हुन्छ, तर हामी एनेस्थेसियोलोजिस्ट चाहिँ बिरामीले साँस फे¥यो कि फेरन, मुटुको धड्कन, ब्लड प्रेशर सबै मेन्टेन गरेर ब्यालेन्स एनेस्थेसिया दिने गछौं । त्यसैले सबै अप्रेशन गर्ने विरामीले आफूलाई एनेस्थेसिया दिने डाक्टर चिन्नु एकदम महत्वपूर्ण हुन्छ ।