लामिछानेमाथि संगठित अपराधसहित ३ वटा कसुरमा अनुसन्धान हुँदै

13.6k Shares

काठमाडौं । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले तीनवटा कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की प्रहरीले म्याद थपका लागि आज (आइतबार) अदालतमा पेस गर्दै छ ।

प्रहरीले सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर पुनः अनुसन्धान गर्ने तयारी गरेको छ । पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि एक हुन् ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई), तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । सोही निष्कर्षकै आधारमा प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो । हिनामिना गरेको आरोप लागेका राई फरार छन् भने सञ्चालक जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । साथै, गोर्खा मिडियाका अर्का सञ्चालक रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्दै छ । सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ । लामिछानेलाई सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । ६० दिन पूरा हुनुअगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउनेछ । सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउनेछ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार