काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरूको बैठकमा सत्ता पक्षीय लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । सो बैठकमा उनको सहभागिता राजनीतिक रूपमा चर्चाको विषय बनेको छ ।
तर लोसपा नेपालका नेताहरूले आफ्नो दलका अध्यक्षलाई माओवादी अध्यक्ष प्रचण्डले झुक्क्याएर बोलाएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव मनिष मिश्रले आफ्नो दलका अध्यक्ष ठाकुरलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बोलाएका कारण गएको बताए ।
उनले भने, ‘हाम्रो दल सरकारमा रहेका कारण प्रतिपक्षी दलहरूको बैठकमा जाने कुरा नै हुँदैन तर अध्यक्ष प्रचण्डले तपाईंसँग समसामयिक विषयमा छलफल गर्नुछ एकपटक भेटौँ भनी आफैँ फोन गरेर बोलाउनुभयो । यसरी प्रधानमन्त्री भइसकेका प्रतिपक्षी दलका नेताले छलफलका लागि बोलाएपछि नजाने कुरा हुँदैन, हाम्रो अध्यक्षज्यू जानुभयो तर त्यहाँ अरू दलका नेताहरू पनि हुनुहुन्थ्यो, जसलाई प्रतिपक्षी दलहरूको बैठक भनी प्रचार गरियो ।’