आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

13.8k Shares

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ। गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन्। आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने विश्वास गरिन्छ।

नवरात्रको पहिलो दिन बिहीबार दशैं घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन्।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ।

सम्बन्धित समाचार