साउदी जेलमा ६१५ नेपाली, ४ हजारलाई एक्जिट भिसा

13.1k Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ६ सय १५ जना नेपाली कामदार जेल परेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर साउदी अरब पुगेका उनीहरू विभिन्न मुद्दामा जेलजीवन बिताइरहेका हुन् ।

रियादस्थित नेपाली दूतावासले आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा दूतावासले १ वर्षमा गरेको मुख्यमुख्य कार्यको जानकारी दिँदै प्रथम सचिव टीकाराम उपाध्यायले हाल साउदीको जेलमा ६ सय १५ नेपालीले जेल सजाय कटाइरहेको बताए । जेल परेका अधिकांश नेपालीलाई मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोग लागेको सचिव उपाध्यायले बताए ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेका छन् । दूतावासले विभिन्न समयमा जेल भिजिट गरिरहेको र कैद भुक्तान भइसकेपछि घर फिर्तीका लागि पनि सहजीकरण गर्ने काम गरेको उनले बताए । साउदी सरकारले विभिन्न मितिमा पक्राउ परेका नेपालीको विवरण दूतावासलाई उपलब्ध गराएको जनाएको छ ।

४ हजार १ सय ६३ जना श्रमिकलाई एक्जिट भिसा

साउदीमा गैरकानुनी रूपमा बस्दै आएका ४ हजार १ सय ६३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । प्रथम सचिव उपाध्यायका अनुसार दूतावासको पहलमा १ वर्षको अवधिमा ४ हजार १ सय ६३ नेपालीले एक्जिट भिसा पाएको बताए ।

आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार