जहाँ महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ...

14k Shares

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ । 

पुजारीको काम गर्दै आउनु भएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोकसो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखा समेत बन्द हुने गरेको सत्यताका उदाहरण धेरै भएकाले मन्दिरभित्र प्रवेशमा वञ्चित गरिएको हो । 

एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन् । 

मन्दिरमा आएका जो कोही भक्तजनले यहाँ पूजा गरेको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने धार्मिक विश्वास रहिआएको छ । चितवन, दैलेख, भोजपुर, सर्लाही, जनकपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछापका धेरै भक्तजन सुविधा सम्पन्न अस्पतालमा उपचार गरे पनि रोग निको नभएपछि पाठी र परेवाको भाकाल गरी यहाँ पूजाआजा गर्न आएका पुजारी बोहोराले सुनाउनु भयो ।

यसरी पूजा गरेर रोग निको भयो भन्दै वर्षैपिच्छे दर्शनका लागि भक्तजन आउने गरेका छन् । मन्दिरको अगाडिपट्टि चौरासी वटा महादेवको मूर्ति स्थापना गरिएको छ । चैरासी वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भक्तजन चौरासी गर्नका लागि यहाँ आउने गरेका छन् । यहाँ पूजा गरेको परेवा पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्था समेत गरिएको छ । 

यहाँ तीज र बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ । यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट धेरै सख्यामा भक्तजन आउने गरेका पुजारी बोहोराले जानकारी दिनु भयो । 

सदरमुकाम चरिकोटबाट नजिकको गौरीशङ्कर बालगृहदेखि करिब सात किलोमिटर गाडी यात्रामा पुगिने धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यो मन्दिरमा मङगलबार र शनिवार भक्तजनको भीड लाग्ने गरेको छ । यहाँ विशेष पूजाआजा दुई दिन मात्र हुने हुँदा यी दिनमा दुई हजारभन्दा बढी भक्त जनको उपस्थिति रहने गरेको छ । अरू दिन भने सय जनासम्म हुने गर्दछन् । यातायातको सुविधा भएपछि गाडी लिएर आउनेको सङ्ख्या बढ्दै गएको छ । 

मन्दिर वरपर व्यापार गर्नेको पनि सङ्ख्या बढेको छ । अरू दिन दुई÷तीन सय बिक्री हुने र शनिवार र मङगलबार भने हजारभन्दा बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार