विद्यालय जान सुरक्षा पहरा

14.9k Shares

नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । यस्तो द्वन्द्व विगतदेखिकै भए पनि हाल आएर बाघ र विद्यार्थीबिच नयाँ समस्या थपिएको छ । त्यसले भरतपुर महानगरपालिका क्षेत्रका विद्यालयमा सन्त्रास बढेको छ ।

निकुञ्ज मात्र होइन सामुदायिक वनबाट समेत वन्यजन्तुको सन्त्रास बढेपछि विद्यार्थीलाई सुरक्षाका लागि सामूहिक रूपमा सुरक्षा पहरासाथ विद्यालय लैजाने र ल्याउने गरिएको छ । भरतपुर महानगरपालिका–१, ठिमुरामा बाघको त्रास बढेसँगै विद्यालय जाने विद्यार्थीलाई सामुदायिक वन र अभिभावकले ‘स्कर्टिङ’ को व्यवस्था मिलाएका छन् । 

ठिमुराबाट झन्डै डेढ किलोमिटर दुरीको रामनगर जङ्गलले परिचित सतनचुली सामुदायिक वन पार गरेर रामनगर माध्यमिक विद्यालय जानुपर्ने विद्यार्थीलाई स्थानीय अभिभावककै पहलमा सामुदायिक वनले एक जना वनपाले खटाएर ‘स्कर्टिङ’ को व्यवस्था गरेको हो । रामनगर माध्यमिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामकृष्ण भुजेलले बालबालिकाको सुरक्षाका लागि वनपालेले ‘स्कर्टिङ’ गराउनुपरेको बताउनुभयो । 

उहाँका अनुसार विद्यालय जाने र फर्कने बेला विद्यार्थीलाई एकै ठाउँमा जम्मा पारेर वनपालेले ‘स्कर्टिङ’ गरी विद्यालय पुर्‍याउँछन् । अध्यक्ष भुजेलका छोरा आदित्यकुमार भुजेल पनि उक्त विद्यालयमा कक्षा ९ मा पढ्नुहुन्छ । अध्यक्ष भुजेलले भन्नुभयो, “यही भदौ २३ गते बाघले एकै घरका छ वटा बाख्रा मारेपछि विद्यार्थीलाई ‘स्कर्टिङ’ गरेर विद्यालय पठाउन थालिएको हो । बाघले बाख्रा खाएकै ठिमुरा निवासी सानीमाया चेपाङकै दुई छोरी शर्मिला र मुना पनि रामनगर माध्यमिक विद्यालयकै विद्यार्थी हुन् । सानीमायाले स्कुल पठाएका छोरीहरू घर नफर्किउन्जेल चिन्ता हुने बताउनुहुन्छ । “पढ्न त पठाउनै पर्‍यो । घर नफर्कंदासम्म किन आएनन् भनेर मन ढुकढुक भइरहन्छ,” उहाँले भन्नुभयो । 

बाघले दसैँमा बेच्न भनेर राखेको एउटा बोका, ब्याउने बेला भएका चार वटा माउ र एउटा सानो पाठो गरी छ वटा एकै दिन खाइदिएको थियो । “माउहरू ब्याउने थिए । बोका दसैँमा बेचौँला, छोराछोरीको पढाइखर्चको जोहो गरौँला र बाँकी पैसाले दसैँ मानौँला भनेको बाघले सबै सपना भताभुङ्ग गराइदियो,” उहाँको गुनासो छ । 

विद्यार्थी मात्र होइन, आधारभूत विद्यालय ठिमुराका प्रध्यानाध्यापक ज्योतिनारायण ढकाल पनि सोही जङ्गल पार गरेर विद्यालय पढाउन जानुहुन्छ । भरतपुर घर भएका प्रअ ढकाल जाँदा आउँदा नियमित बँदेल, चितुवा, बाघलगायतका जनावर देखिरहने बताउनुहुन्छ । ठिमुराबाट रामनगर निस्कने बिचमा पर्ने सतनचुली सामुदायिक वन क्षेत्र बरन्डाभार वन क्षेत्रमा पर्छ । जुन चितवन राष्ट्रिय निकुञ्जदेखि चुरे पहाड शृङ्खलासम्म बाघ, चितुवा, गैँडा जस्ता जनावर नियमित ओहोरदोहोर गर्ने क्षेत्र हो । विगत छ महिनामा ठिमुरा क्षेत्रमा बाघले ५० भन्दा बढी घर पालुवा जनावर मारिसकेको स्थानीयवासीले जनाएका छन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार