मकवानपुर । बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले कर्मचारीतन्त्रको विकल्प नरहेको तर यसमा सुधारको आवश्यक रहेको औँल्याएका छन् । निजामती सेवा दिवस २०८१ को अवसरमा प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले सुधारिएको कर्मचारी प्रशासन प्रणाली नै नै कर्मचारीतन्त्रको उपयुक्त विकल्प भएको बताएका हुन् ।
सेवा प्रवाह, कानुन निर्माण तथा विकासका काममा निजामती कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाई छ । कर्मचारी क्षेत्रमा रहेका केही कमीकमजोरीका कारण प्रशासन प्रणाली माथि नै प्रश्न उठिरहेको उनले बताए ।
प्रमुख सचिव कार्कीले कर्मचारी प्रशासनमा सङ्क्रमण रहेको समेत बताए । सङ्क्रमणको अवधि कहिलेसम्म रहने थाहा नहुँदा कर्मचारी प्रशासनमा द्विविधा रहेको उनले बताए ।
कर्मचारी प्रशासनको सुधारको प्रयत्न भइरहेको उनको भनाई छ । कर्मचारी प्रशासनको सुधार अरूबाट भन्दा पनि आफैबाट सुरु गर्नुपर्ने उनले बताए । संघीय प्रणाली लागु भएको ७ वर्षको अवधिमा पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद भएको प्रमुख सचिव कार्कीको भनाई छ ।
प्रदेश सरकारले बनाएका निजामती ऐनसँग हाल कार्यान्वयनमा रहेको र केही विषयहरू संघीय ऐन बाझिँदा सार्वजनिक प्रशासन सेवामा प्रत्यक्ष असर पुगेको सचिव कार्कीले बताए ।