आफूमा इच्छा, जोश, जाँगर, मेहनत र लगनशीलता भए आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा रहेका छन् गोरखामा जन्मिएका तेक्वान्दोका प्रशिक्षक चौथो डान प्रदिप आले मगर ।
सानै उमेरदेखि खेलकुदप्रति रुचि र चासो राख्ने र आफू यो अवस्थासम्म आउनुमा सानै उमेरमा हातखुट्टा समाएर आफूलाई खेलाडी हुने इच्छा जगाई दिने युएस आर्मी गुरु राम थापा मगरलाई कहिले पनि विर्सन नसक्ने आलेमगर बताउँछन् । छुट्टीको समयमा आउँदा गुरु थापा मगरले प्रशिक्षण दिने गरेको र त्यसपछि काठमाडौंको ढल्को तेक्वान्दो डोजाङमा आई गुरु राजेन्द्र पुजारसँग प्रशिक्षण लिएको आलेमगर बताउँछन् । 
हाल प्रशिक्षकका रुपमा रहेका आले मगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीको रुपमा सहभागिता जनाई धेरै पदक हालिस गरिसकेका छन् । राष्ट्रियस्तरमा दर्जनौं पदक हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि त्यतिकै पदक ल्याउन सफल भई देशको झण्डा अन्तर्राष्ट्रिय क्षेत्रमा फराउन सफल बनेका थिए । खेलाडीको रुपमा रहँदा कोयिरया, जापान, भुटान, थाइल्याण्ड, मलेशियालगायतका देशहरुमा आयोजित तेक्वान्दो प्रतियोगितामा खेलाडीको रुपमा सहभागिता जनाइसकेका आले मगर पछिल्लो समय सफल प्रशिक्षकको रुपमा आफूलाई परिचय समेत दिइसकेका छन् ।
२०७४ सालबाट प्रशिक्षकको रुपमा वनस्थली खरीबोटस्थित द च्याम्पियन्स तेक्वान्दो डोजाङमा झण्डै डेढ सय खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन् । सो डोजाङ बाहेक आले मगरले फुर्सदको समयको सदुपयोग गर्दै नयाँबजार तेक्वान्दो डोजाङमा पनि झण्डै ५० जना खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन् । उनले वनस्थली ढुंगेधारा नर्सरी चोकस्थित कोरोना स्कुलमा खेलकुद सम्बन्धी इन्चार्जको रुपमा पनि कार्य गर्दै आइरहेका छन् ।
पछिल्लो समय नेपालमा खेलकुद क्षेत्रमा लागेर दालभात खाने र आफ्नो बालबच्चालाई उचित शिक्षा दिनसक्ने वातावरण बनेको आलेमगर बताउँछन् । आफूलाई खेलाडी हुँ भन्ने तर खेलकुद गतिविधिमा खासै सहभागिता नजनाउनेहरुका लागि भने यो क्षेत्र कष्टकर बनेको छ । तर खेलकुद क्षेत्रमै इमान्दारिताका साथ दत्तचित्त भएर लागेको खण्डमा भने दैनिक जिवन यापन गर्नको लागि कसैसँग हात फैलाउनुपर्ने अवस्था नभएको आलेमगर बताउँछन् ।
खेलकुद क्षेत्रको सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघको अथोरिटीमा आफूद्वारा प्रशिक्षण दिँदै आइरहेको डोजोहरुलाई केही सहयोग गरेको आलेमगर बताउँछन् । राखेपले दिने स्र्पोट्स साइन्स अफ एकेडेमी नेपालको लाइसेन्ससम्म आफूले हासिल गर्न सफल भएका आलेमगर आफ्नो स्कीलकै आधारमा विदेशमा गएर खेल्न र प्रशिक्षण लिन जान सफल भए । मैले तेक्वान्दो खेलमा लागेर कसैको भनसुन र पावर नलगाई अहिले यो क्षेत्रसम्म आउन सफल बनेको ढुक्कसँग बताउँछन् । 
आफूले प्रशिक्षण लिइरहेका खेलाडीहरुको अवस्था हेरी पारिश्रमिक लिने गरेको आलेमगर बताउँछन् । राम्रा खेलाडी तर आर्थिक अवस्था कम्जोर भएकाहरुलाई निःशुल्करुपमा प्रशिक्षण दिने गरेको र खेलाडीहरुको आर्थिक अवस्था हेरी निम्म शुल्क लिई प्रशिक्षण गराउँदै आइरहेको आलेमगर बताउँछन् । आलेमगरद्वारा प्रशिक्षित खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाइसकेका छन् । उनीद्वारा प्रशिक्षित खेलाडी राज प्रधानले जापानको ओसाका सान्काई सीटीमा आयोजित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी कास्यपदक ल्याउन सफल बनेका थिए भने अर्का खेलाडी जुनसाङ लामाले पनि सो प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
विदेशमा प्रशिक्षण लिने क्रममा आफूले कसरी राम्रो खेल प्रदर्शन गर्ने भन्नेतित्र मात्र ध्यान केन्द्रीत गराउने गरेको आलेमगर बताउँछन् । तर नेपालबाट विदेशमा प्रशिक्षण लिन जाने कतिपय खेलाडीहरुको ध्याउन्न भने भागेर कसरी विदेशमा पलायन हुने भन्नेतिर ध्यान केन्द्रित हुन्थ्यो, आफूसँग प्रशिक्षण लिन जाने कतिपय खेलाडीहरु विदेशमा पलायनसमेत भएको उनी बताउँछन् । तर, आफू देशको लागि केही गर्छु भन्ने उद्देश्यले लागेका कारण ममा कहिले पनि त्यस्तो सोच आएन । आफूद्वारा प्रशिक्षित खेलाडीलाई ओलम्पिक गेममा सहभागिता गराई पदक हासिल गर्ने र देशको झण्डा विश्वसामु फहराउने आफ्नो उद्देश्य रहेको आलेमगर बताउँछन् ।