सडकमै जान्छ ज्यान

14.6k Shares

काठमाडौँ । साहित्यकार मनीषा गौचनले मङ्गलबार भएको एक सडक दुर्घटनामा परेका दुई जनाको उपचारका लागि आकस्मिक सेवा पाउन भोगेको पीडा सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । उहाँले पोखराबाट मुस्ताङ जाँदा म्याग्दीमा पहिरोबाट खसेको ढुङ्गाले दुई यात्रु घाइते भएको तर प्रहरी र एम्बुलेन्सको सहयोग कतैबाट नपाएको गुनासो गर्नुभयो ।

उहाँले आफ्नै पहलमा बोलेरो भाडामा लिई घाइते दुईको उपचार गराएको स्मरण गर्नुभयो । प्रहरी आएको तर कपी र कलम लिएर विवरण मात्र टिपेको उहाँको गुनासो छ । अर्को दुर्घटनामा हुम्लाको चङ्खेली गाउँपालिकामा कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको गाडी दुर्घटना हुँदा तीन गम्भीरसहित सात जना घाइते भए । बुधबार बिहान भएको दुर्घटनाका घाइतेलाई साँझ मात्रै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत पुर्याइयो ।

विकट भूगोल र मौसमको खराबीको कारण देखाउँदै घाइतेलाई दिनभरि जोखिमपूर्ण अवस्थामा जिल्ला अस्पतालमै राखियो । हुम्लाका राजनीतिज्ञ एवं संविधान सभा सदस्य रीता शाहीले दुर्घटनापछि तुरुन्तै अस्पताल लाने सुविधा नभएका कारण कर्णाली प्रदेशका कैयौँ जनताले बाटैमा ज्यान फाल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नै भरपर्दो छैन, चाहिएका बेला एम्बुलेन्स पाइँदैन । दुर्घटना दिनदिनै हुँदा पनि आकस्मिक स्वास्थ्य सेवा पाइँदैन । नागरिकले अकालमै ज्यान फाल्नु परिरहेको छ ।”

हुम्लाको चङ्खेलीमा मात्र होइन, सुगम क्षेत्रमै पनि आकस्मिक सेवा लिन नपाउँदा दुर्घटनाका घाइतेले ज्यान गुमाउनु परिरहेको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म २४ हजार ९५ जनाको मृत्यु भएको छ । चालु आवको साउन र भदौ ४ गतेसम्ममा १६६ जनाको मृत्यु भएको छ तर राज्यका संयन्त्रकै एकीकृत कार्ययोजना नहुँदा गम्भीर र सामान्य घाइतेको जीवन जोखिममा परिरहेको छ । 

सम्बन्धित समाचार