डाक्टर सा’ब पनि बेरोजगार !

14.2k Shares

काठमाडौँ । नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् । 

मणिपाल मेडिकल कलेजबाट एमबिबिएस पास गर्नुभएकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उहाँले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सक्नुभएन । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाड्नुभएको छ तर कुनै पनि अस्पतालले उहाँलाई बोलाएका छैनन् । 

केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उहाँले रोजगारी पाउनुभएन । शाक्यले भन्नुभयो, “बुझ्दै जाँदा थाहा भयो, वीर अस्पतालमा पहुँच भएकाले मात्र रोजगारी पाउने रहेछन् । पहुँच नहुनेलाई वीर अस्पतालमा मात्र होइन, कुनै पनि सरकारी अस्पतालमा जागिर पाउनै मुस्किल रहेछ ।” 

उहाँले वीर अस्पतालबाहेक त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा करारका लागि फाराम भर्दा नाम निस्केन । शाक्यले भन्नुभयो, “मेरै साथीको राजनीतिमा पहुँच थियो, उहाँले राजनीतिक पहुँच लगाएर सहिद गङ्गालाल हृदय केन्द्रमा काम गरिरहनुभएको छ ।” यसबाहेक निजी क्षेत्रका केही अस्पतालमा गएर रोजगारीको कुरा गर्दासमेत पहुँचवालाकै बोलवाला हुने गरेको अनुभव छ । 

निष्मा शाक्य मात्र होइन, एमबिबिएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ । नेपालमा डाक्टर अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन् ।

काम पाए पनि तलब छैन 

यस्तै एम शाह जडीबुटीमा बस्नुहुन्छ । छ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहनुभएको छ तर उहाँलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन । डा. शाहले उक्त अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार रुपियाँ मात्र उपलब्ध गराएको बताउनुभयो । 

शाहले भन्नुभयो, “डाक्टर अध्ययन गरिसकेपछि बाबुआमालाई कमाएर देओस् भन्ने हुन्छ, काठमाडौँमा बसेर ३२ हजार तलबले रोजीरोटी धान्नसमेत कठिन छ ।” शाहलाई अस्पतालले हप्तामा चार दिन २४ सै घण्टा काममा लगाउने गरेको छ । उहाँले भन्नुभयो, “यो जागिर खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ ।” डा. शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार