काठमाडौं । संविधान संशोधनमा बहस सुरु भएको छ । दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान संशोधनसहित सातबुँदे सहमति गरेर गठबन्धन गरेपछि उनीहरू संघीयदेखि प्रदेशसम्मको सरकारको नेतृत्वमा छन् ।
विपक्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका विपक्षी दलले दुई दल मिल्दैमा संविधान संशोधन असम्भव रहेको भन्दै कांग्रेस र एमालेले भनेजस्तै संशोधनमा सहमति नहुने बताइरहेका छन् ।
राजधानीमा मंगलबार कांग्रेस नेता प्रदीप गिरीको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा समेत संविधान संशोधनको बहसले प्राथमिकता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषय उप्काउ“दै गर्दा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘फरक मत’ राखेका छन् ।
कांग्रेस र एमालेबीचमा भएको संविधान संशोधनसहितको सातबुँदे सहमतिमा शंका नगर्न सभापति देउवाले आग्रह गरे । तर, आफ्नो मन्तव्य राख्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मध्यरातमा दुई दलले सहमति गर्दैमा संविधान संशोधन सम्भव नभएको भन्दै आफूहरूको असहमति रहने बताए ।
यसअघि, पार्टीको बैठकदेखि सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउनेगरी हुने संविधान संशोधनमा कुनै सहमति नहुने भन्दै त्यसविरुद्ध सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दि“दै आएका छन् ।
प्रचण्डले हालै जारी गरेको पार्टी निर्णयको परिपत्रमा एमाले र कांग्रेस मिलेर मुलुकलाई २०४७ सालतिर लैजान खोजेको भन्दै त्यसका विरुद्धमा हुने आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । नेपाल र प्रचण्डको आवाज कांग्रेस र एमालेले भनेजस्तै संविधान संशोधनमा सहमति नहुने र जबर्जस्ती गरिए त्यसका विरुद्ध आन्दोलनमा होमिने देखिन्छ । आजको राजधानी दैनिकबाट