गठ्ठाघरको अवस्था सामान्य, ट्राफिक प्रहरीलाई लगाए स्थानीयले घटनाको दोष

17.4k Shares

भक्तपुर – भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर चालकको ज्यान लिएपछि सुरु भएको तनाव अब साम्य भएको छ ।

दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ । तर अहिलेसम्म पनि उनको पहिचान खुल्न सकेको छैन ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ट्रकले सोहोरेर ज्यान गुमाएकी महिलाकाे शव उठाइएकाे छ । शव उठाएसँगै यातायातका साधन पूर्ववत् अवस्थामा चल्न थालेका छन् ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

सम्बन्धित समाचार