काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा अपेक्षित सुधार हुन नसक्नुलाई शिक्षाविद् तथा सरोकारवालाले विद्यालय शिक्षामा अपुग लगानीका रूपमा अथ्र्याउनुभएको छ । महिना दिनअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा ननग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भए पनि राष्ट्रिय परीक्षा बोर्डले एनजीमा परेका सबै परीक्षार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बोर्डले साउन २३ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्दै छ । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरिएको थियो ।
एसइईको नतिजा सार्वजनिक भएको झन्डै एक महिनापछि बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजामा पनि ४७ प्रतिशत परीक्षार्थी एनजीमा परेका छन् । दुवै नतिजालाई अहिले विविध कोणबाट विश्लेषण गर्न थालिएको छ । विद्यालयमा पढाउने विधि, परीक्षा तथा मूल्याङ्कन गर्ने विधि तथा पाठ्यक्रमलाई बहसको मुख्य विषय बनाइएको छ । आजको गोरखापत्र दैनिकबाट