स्कुल जीवनदेखि नै मार्शलआर्ट खेलप्रति चासो राख्ने नविना बुढाथोकी बुढामगरले सानै उमेरमा गुरु मणिराज विष्टबाट तेक्वान्दो खेलको प्रशिक्षण सुरु गरेकी थिइन् । पढाईसँगै खेलकुदलाई पनि अगाडि बढाउँदै आएकी बुढामगरले स्कुलेजीवनमै ब्ल्याकबेल्ट हासिल गर्न सफल बनेकी थिइन् ।
म्याग्दी स्थायी घर भएकी नविनाले पढाई जीवन नखिपोट ललितपुरको सम्पूर्ण सेकेन्डरी स्कुलमा आफ्नो पढाई सुरु गरेकी थिइन् भने हाल उनी नखिपोटमै हजुरआमासँग बस्दै आइरहेकी छिन् ।
अहिले चौथो डान हासिल गरी प्रशिक्षक तथा निर्णायकको भूमिका निर्वाह गर्दै आइरहेकी नविनाले बुढानिलकण्ठस्थित बाँडेपाखामा रहेको प्रारम्भिक बाल विकास केन्द्रमा रहेका बालबालिकाहरुलाई प्रशिक्षण दिँदै आइरहेकी छिन् ।
सीएनएन हिरो पुष्पा बस्नेतद्वारा संचालित प्रारम्भिक बाल विकास केन्द्रमा जेलमा बसेका अभिभावकहरुका बालबच्चाको संरक्षण गर्ने संस्था हो । सो संस्थाले जेल जीवन विताइरहेकाहरुको बालबच्चाहरुलाई ल्याई पढाई, खेलकुदलगायत अन्य गतिविधिमा संलग्न गराई संरक्षण गर्दै आइरहेको छ । त्यस्ता बालबच्चाहरुलाई तिन वर्षदेखि नविनाले तेक्वान्दोको प्रशिक्षण दिँदै आइरहेकी छिन् ।
प्रशिक्षक तथा निर्णायकको भूमिका निर्वाह गर्दै आइरहेकी नविनाले पढाईलाई पनि निरन्तरता दिइरहेकी छिन् । नविनाले दुईवटा विषयमा मास्टर डिग्रीको तयारी गरिरहेकी छिन् । उनले बालविकास तथा पोषण र अर्को टेक्निकल एण्ड भोकेसनल एजुकेशनल एण्ड टे«निङमा मास्टर डिग्री गर्न लागिरहेकी छिन् । यो सँगै उनले अल्टरनेटको हिसावले प्रशिक्षण दिँदै आइरहेकी छिन् भने रेफ्री सेमीनार गरी राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
काराबासमा रहेका अभिभावकहरुका २८ जना खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेकी नविनाले त्यस्ता खेलाडीहरुलाई राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगिताहरुमा सहभागिता गराउँदै आइरहेकी छिन् । विशेष गरी १५ वर्ष मुनिका खेलाडीहरु हुने भएकाले जुनियर खेलाडीका रुपमा विभिन्न प्रतियोगिताहरुमा सहभागिता गराउँदै आइरहेको नविना बताउँछिन् ।
त्यस्ता बालबच्चाहरुलाई आफूले प्रशिक्षण गराउन पाउँदा आफूलाई बेग्लै सन्तुष्टि मिलेको बताउने नविना सो संस्था प्रशिक्षण दिने वातावरण पनि राम्रो र बालबच्चाहरुको अनुशासनदेखि लिएर आफ्नो जिम्मेवारी आफैले बहन गर्ने वातावरण रहेको समेत बताउँछिन् ।
गएको तेह्रो साग गेममा टेक्निकल अफिसियलको भूमिका निर्वाह गरेकी नविनाले नेपालमा आयोजित राष्ट्रियस्तरको प्रायः सबै प्रतियोगिताहरुमा आफू निर्णायक बन्न पाउँदा आफूलाई साह्रै नै खुसी र आनन्द लागेको बताउँछिन् । पछिल्लो समय तेक्वान्दो खेलमा राखिएको टेक्निकल सेन्सर सिस्टम चलाउने आउने भएकै कारण पनि आफू प्रायः राष्ट्रिय गेमहरुमा निर्णायकको भूमिका निर्वाह गर्ने मौका पाइरहेको नविना बताउँछिन् ।
नविनाको अनुभवमा उनी भन्छिन् नेपालको खेलकुद क्षेत्र पछाडि पर्नुका कारण खेलकुद क्षेत्र केन्द्रिकृत भएकै कारणले पछाडि परेको बताउँछिन् । हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनौट गर्दा दुर्गम ठाउँमा गएर छनौट गर्दा स्तरीय खेलाडीहरुले मौका पाउने उनी बताउँछिन् । दुर्गम गाउँका खेलाडीहरुको स्टामिनादेखि लिएर शारीरिकरुपमा पनि बलिया हुने भएकै कारण पनि उनीहरुले समेत मौका पाउने थिए । तर केन्द्रित भएका कारण दुर्गम ठाउँका खेलाडीहरु सुगम ठाउँमा आउन आर्थिकदेखि लिएर विभिन्न समस्याका कारण आउन नसकी उनीहरुले आफ्नो खेल देखाउन सकिरहेका हुँदैनन् । त्यसैले स्तरीय खेलाडी उत्पादन र खेलाडी छनौटका लागि खेलकुद सम्बन्धी जिम्मेवार लिएका हरेक संघसंस्था र राज्यले पनि यसतर्फ पनि ध्यान दिनुपर्ने जरुरी छ ।