ललितपुर कांग्रेसीलाई महाधिवेशनको चटारो

20.4k Shares

ललितपुर । नेपाली कांग्रेसको १४ औ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै ललितपुरका कांग्रेसीहरुलाई पनि महाधिवेशनको चटारो लागेको छ । 
महाविधेशन जतिजति नजिकिँदै जाँदै छ त्यति तयति कांग्रेस वृत्तमा आगामी नेतृत्व कसले लिने भन्ने चर्चा यतिवेला वडादेखि केन्द्रिय तहसम्म चुलिएको छ ।
कांग्रेसको महाधिवेशनको तालिका सार्वजनिक भएसँगै आगामी श्रावण २६ गतेको लागि जिल्ला अधिवेशन तोकिएपछि जिल्लास्तरका नेताहरु तिब्र रुपले चुनावी अभियानमा होमिएका छन् । कांग्रेसको वडा अधिवेशन श्रावण १२ गतेको लागि तय भएको छ । जिल्ला अधिवेशनसम्मका लागि मतदान गर्ने प्रतिनिधिहरु वडा तहबाट नै चयन भएर आउनेछन् ।
क्रियाशिल सदस्यता संख्याको आधारमा एउटा वडाबाट न्युनतम १६ जनादेखि १२६ जनासम्म प्रतिनिधि चयन हुन सक्नेछन् । यस अनुसार ललितपुरमा करिब दुई हजार भन्दा बढी प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागिता हुने कांग्रेस ललितपुरले जनाएको छन् ।
कांग्रेसको वडा अधिवेशनपछि गाउँ÷नगर अधिवेशन श्रावण १६ गते हुनेछ । त्यस्तैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन श्रावण २० गते, प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन श्रावण २३ गते तोकिएको छ ।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनकै दिनमा हुनेछ । प्रदेश स्तरिय अधिवेशन भाद्र १ र २ हुनेछ भने केन्द्रिय महाधिवेशन भाद्र १६ देखि १९ को लागि कांग्रेस केन्द्रिय समितिको पछिल्लो बैठकले निर्णय गरेको छ ।
देशभर कांग्रेस महाधिवेशनको सरगर्मी चलिरहदा ललितपुरमा पनि भावी नेतृत्वको लागि यतिवेला चर्चा सुरु भएको छ । नेपाली कांग्रेसको विधानमा व्यवस्था गरे अनुसार लगातार दुई कार्यकाल सभापति भएको व्यक्ति लगातार तेस्रो पटक उम्मेदावर हुन नपाउने भएकोले वर्तमान सभापति मदन बहादुर अमात्य उम्मेदवार हुन सक्ने छैनन ।
कांग्रेस सभापतिका आकाँक्षी उम्मेदवारहरु मथुराप्रसाद घिमिरेले उम्मेदवार बन्न नचाहेको खण्डमा पूर्व क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरेलाई अगाडि सार्न सक्ने सम्भावना समेत रहेको छ ।
मीनकृष्ण महर्जन ः युवा र कार्यकर्ताहरुमाझ निकै नै लोकप्रिय नेताका रुपमा मीन कृष्ण महर्जनलाई कांग्रेसी वृत्तमा चिन्ने गरिन्छ । उनी कार्यकर्ताहरुको दुःख सुखमा सधै साथ दिने नेताका रुपमा पनि परिचित छन् । त्यसैले कांग्रेस ललितपुरको आगामी नेतृत्वको लागि पार्टी सभापतिका स्वघोषित दाबेदार उम्मेदवार हुन मीनकृष्ण महर्जन । २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको नेतृत्व गरी आन्दोलनको कमाण्डरको भूमिका निर्वाह गरी आन्दोलनलाई सफलतातिर उन्मुख बनाउन ललितपुरबाट महत्वपूर्ण भूमिका खेलेका महर्जनले ललितपुर क्षेत्र नं. १ बाट पटक—पटक महासमिति सदस्य बन्दै आइरहेका छन् । तेह्रौ महाधिवेशनमा महर्जनले अधिवेशनको दिन राती १ बजे आफूले सभापतिको उम्मेदवार हुने जानकारी गराएका थिए । केही घन्टा अगाडिमात्र सभापतिको उम्मेदवार भएको घोषणा गरेका महर्जनले सम्मानजनक मत ल्याउन सफल बनेका थिए । उनका ९ मत बदर नभएको भए उनी दोस्रो हुने थिए र सभापति हुन सम्भावना पनि बलियो थियो । हाल महर्जन केन्द्रीय खेलकुद विभागका सचिवका रुपमा पार्टी संगठन विस्तारमा लागेका छन् । पार्टीले घोषणा गरेको हरेक आन्दोलनमा लतिलपुबाट कमाण्डरको भूमिका निर्वाह गर्दै आइरहेका महर्जनलाई केन्द्रस्तरका नेताहरुले ललितपुरको शक्तिशाली नेताको रुपमा लिने गरेका छन् ।
रामकृष्ण चित्रकार ः नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुँदै नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील रामकृष्ण चित्रकार १२ औं र १३औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भए । विभिन्न संघसंस्थामा समेत आवद्ध उनी स्वस्ती श्री गुरुकुल कलेज, ललितपुर इन्जिनियरिङ कलेजमा समेत संग्लग्न छन् । सोही १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापतिका ३ जना उम्मेदवारहरु मदनबहादुर अमात्य, मथुराप्रसाद घिमिरे र रामकृष्ण चित्रकार उम्मेदवार थिए । नेपाली काँग्रेसका विधानअनुसार जिल्ला र केन्द्रीय सभापतिमा निर्वाचित हुन कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ । जिल्ला अधिवेशनमा ३ जना उम्मेदवार हुँदा मदनबहादुर अमात्यले २३७, मथुराप्रसाद घिमिरेले १३३ र रामकृष्ण चित्रकारले ११९ मत प्राप्त गरेका थिए । त्यसपछि दोस्रो स्थानमा मत हासिल गरेका घिमिरेले वर्तमान सभापति मदन अमात्यलाई सहयोग गरेका कारण पुनः निर्वाचन भएन र मदन अमात्य स्वतः सभापति भए । १३औं महाधिवेशनमा उम्मेदवारको अपेक्षा नै नगरेका मीनकृष्ण महर्जनलाई सभापतिको उम्मेदवार बनाएर आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।
जितेन्द्र कुमार श्रेष्ठ ः तेह्रौ महाधिवेशनमा पराजित भएका जितेन्द्र कुमार श्रेष्ठले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारी दिने पक्कापक्की भइसकेको छ  । २०५० सालमा कांग्रेसको क्रियाशिल सदस्य, २०५०–२०५२ सालसम्म इकाई सभापति, २०५२ सालमा क्षेत्रीय कोषाध्यक्ष, २०५७ सालमा क्षेत्रिय सचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । ११ औं महाधिवेशनबाट ललितपुरको सभापति भएका चन्द्र महर्जनको कार्यकालमा मनोनित कोषाध्यक्ष भएका  थिए । जितेन्द्र कुमार श्रेष्ठ बताउँछन्, आफू सभापति भए ५ वर्षसम्म कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने र पार्टीका सबै साथीहरुलाई अवसर दिएर आफू जिताउन लागि पर्ने र पार्टीलाई विधि, पद्धति अनुसार सञ्चालन गर्ने, पार्टीका हरेक क्रियाकलापहरुको दस्तावेजिकरण गर्ने उनको भनाई छ ।
मथुराप्रसाद घिमिरे ः ललितपुरमा काँग्रेसका पुराना र अग्रज नेता हुन मथुरा प्रसाद घिमिरे । नेपाली काँग्रेसको ९ औं अधिवेशनबाट क्षेत्रीय सभापति हुने अवसर पाएका घिमिरेलाई त्यसपछिका कुनै पनि जिल्ला अधिवेशनले साथ दिएन । १० औं महाधिवेशनमा तत्कालीन सभापति सागर शम्शेर राणासँग १० मतको अन्तरले पराजित भएका थिए । १२औं महाधिवेशनमा दोस्रो स्थानको प्रत्यासी उम्मेदवार रहेका घिमिरे १३ औं महाधिवेशनमा मीनकृष्ण महर्जनलाई नै समर्थन गर्दै जिल्ला सभापतिको उम्मेदवार बनेनन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका घिमिरे पराजित भएका  थिए  । 
गजेन्द्र महर्जन ः कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् भद्र सालिन र सबै नेता तथा कार्यकर्ताहरुसँग भिज्न सक्ने स्वभावका गजेन्द्र महर्जन । १२ औं महाधिवेशन क्षेत्रीय सभापति निर्वाचित बनेका महर्जनले १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । भद्र, सालिन र सबैसँग भिज्न सक्ने स्वभाव भएकै कारण महर्जन सभापतिको दावेदार उम्मेदवारको रुपमा ललितपुरवासीले लिने गरेका छन् । यस्तै स्वभाव भएकै कारण गोदावरी नगरपालिकाको मेयरमा समेत निर्वाचित भई नगरपालिकाको हरेक विकास निर्माण कार्यमा उनलाई आफ्नो पार्टीमात्र होइन सबै राजनीतिक दलले सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय गोदावरी नगरपालिकाको मेयर बनेपछि महर्जनलाई गोदावरी नगरपालिकावासीले विकासप्रेमी मेयरको रुपमा पनि लिने गरेका छन् । 
प्रकाशनन्दन जोशी ः कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् प्रकाशनन्दन जोशी । वर्तमान सभापतिको निकटमा रहेका जोशी लामो समयदेखि काँग्रेसमा क्रियाशील छन् । महासमिति सदस्य, जिल्ला सदस्य समेत रहेका जोशी खासै बाहिर चर्चामा आउन नचाहने व्यक्ति हुन् । जोशीले २०७४ सालको स्थानीय निर्वाचन, प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर समेत पाएका थिए ।

सम्बन्धित समाचार