काँकडभिट्टा नाकाबाट ८५ करोडको कोदो आयात

18.3k Shares

झापा– पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०–८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो ।

नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।

उनले सोही अवधिमा फर्सी मात्र २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिए ।

उनका अनुसार गत एक वर्षमा एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार एक सय १३ मेट्रिक टन गोलभेँडा, २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार सात सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

सम्बन्धित समाचार