काठमाडौं । वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक बिदेसिएका छन् ।बिदेसिनेमा पुरुषको संख्या ६ लाख ६१ हजार १ सय २५ रहेको छ भने महिलाको संख्या ८० हजार १ सय ७२ रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यो संख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो । श्रम स्वीकृति नलिईकन भिजिट भिसामा गई काम गर्नेहरूको तथ्यांक पनि बढी नै हुने गरेको छ । यद्यपि, कति नेपाली श्रमिक भिजिट भिसामा गई कामदार बनेका छन् भने यकिन तथ्यांक आउन सकेको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर बिदेसिएका मध्ये ७ सय ३२ जना मात्रै उच्च सीप भएका कामदार रहेका छन् । यसैगरी, पेसागत दक्षता भएकाहरूको संख्या २ हजार ७ सय ७२ रहेको छ । ६० हजार १ सय ३२ अर्धदक्ष कामदार बिदेसिएको तथ्यांक छ । यसैगरी, सीपयुक्त ५ लाख ३२ हजार १ सय २३ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । बाहिरिनेमध्ये १ लाख ४५ हजार ५ सय ४७ जना भने अदक्ष कामदार रहेका छन् ।
४ लाख ६० हजार १ सय २ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २ लाख ८१ हजार १ सय ९५ जनाले श्रम नवीकरण गरेका छन् ।
आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्या ३ दशमलव ८८ प्रतिशतले घटेको विभागको तथ्यांक रहेको छ ।
आव २०७९–८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बिदेसिएका थिए भने आव २०८०–८१ मा ७ लाख ४१ हजार ३ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् । यो अघिल्लो आवको भन्दा २९ हजार ९ सय ३० जनाले कम हो ।
वैदेशिक रोजगार विभागले तथ्यांक राख्न थालेदेखि हालसम्ममा आव २०७९–८० मा बिदेसिनेको संख्या हालसम्मको उच्च हो । आजको राजधानी दैनिकबाट