बाराको मुर्सहवाबाट प्रदिपको लाइन

20.7k Shares

कलैया । बाराको मुर्सहवा नाकाबाट कपडाको तस्करीको लाइन चलेको छ । केही दिन यता सशस्त्र प्रहरी बलको स्थानीय बिओपीको सेटिङ र संरक्षणमा तस्करीको लाइन शुरू भएको स्थानीयहरू बताउँछन् । ठूलो मात्रामा कपडा र हार्डवेयरको तस्करी चलेको छ । 
तस्करहरूले स्थानीय बिओपी   बरैनिया र सशस्त्रको १२ नम्बर गणबाट परिचालन गरिएका घुमुवाहरूको सेटिङमा उक्त तस्करी चलेको स्थानीय पप्पुदेव साह बताउँछन् । स्थानीय प्रदिप गुप्ताले तस्करीको मुख्य लाइन पाएका छन् । विगतमा यो समूहले पिकअप गाडीको माध्यमबाट नै कपडाको तस्करी धन्दा गर्दै आएकोमा अहिले धेरै हल्ला भएको भन्दै साइकल र मोटरसाइकलको माध्यमबाट तस्करी गरिरहेका छन् । सरोज यादवको नामबाट तस्करीको लाइन चलाउंदा नेपाल प्रहरीको स्थानीय मात्रै नभएर जिल्ला हुदै प्रदेश र सशस्त्रको पनि बाहिनी सम्म महिनावारी रकम बुझाउनुपर्ने हुदां धेरै रकम खर्च हुने भए पछि अहिले सरोजको नाममा लाइन नलिएर प्रदिप गुप्ताको नाममा तस्करीको लाइन लिएको समेत खुलेको छ । सरोज यादवले अगाडि आफू नदेखिएर प्रदिप गुप्तालाई अगाडि सारेका छन् । मुर्सहवाको पारिपट्टी भारतीय गाउँ सहदेवा महदेवा रहेको छ । सरोज यादव , प्रदिप गुप्ता र सन्तोष यादव समेतको यो समूहले दैनिक ३० वटा साइकल र ८ वटा मोटरसाइकलका माध्यमबाट कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले एक रूपैयाँ पनि भन्सार नतिरी पुरा तस्करी गरेर कपडा भित्र्याउने काम गरिरहेका छन् । सशस्त्र प्रहरी बलको स्थानीय बरैनिया बिओपीमा प्रहरी निरीक्षक प्रकाश आचार्य रहेका छन् । 
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सशस्त्र प्रहरी बल मुख्यालयले सिभिलमा घुमुवा परिचालन नगर्ने स्पष्ट आदेश गरेको भए पनि बारा स्थित १२ नम्बर गणबाट आंफुहरू घुमुवा हुं भन्दै एसपी सन्तोष बहादुर सिंहको नाम लिदै दुई जना घुमुवा जिल्लाभर परिचालित छन् । सशस्त्र प्रहरी हवल्दार सिपाही प्रसाद यादव र सिपाही चान्सी प्रसाद यादव अहिले आंफुहरू गणको घुमुवा हुं भन्दै एसपी सिंहको नाम लिदै हिडिरहेका र उनीहरूले विभिन्न तस्कर देखि व्यापारीहरूलाई भेट्ने गरेको समेत स्थानीय सिम्रौनगढका व्यवसायीहरू बताउँछन् । यो नाकाबाट भारतीय नागरिक मनान भन्ने तस्करले कपडा र हार्डवेयरको ठूलो मात्रामा तस्करी धन्दा गरिरहेका छन् । मनानले निलकण्डवा नाका प्रयोग गरेर बढी तस्करी गरिरहेका छन् । यो तस्करीमा सशस्त्र प्रहरीको स्थानीय फर्वाड बेशका प्रमुखको ठूलो साथ र सहयोग रहेको स्थानीय बताउँछन् । उक्त बेशमा असई रहेका छन् ।

सम्बन्धित समाचार