धनगढी- नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।
सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने निर्णय लिएपछि सोडारी संकटमा परेका हुन् ।
एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बिहीबार गरिसकेको छ ।
समर्थन फिर्ताको निर्णयसँगै अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी पुगिसकेका छन् ।
तर मुख्यमन्त्री सोडारी अहिले प्रदेश राजधानी धनगढीमा छैनन् । उनी काठमाडौंमा जारी एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिइरहेका छन् ।
सोडारी अनुपस्थित भएपछि राजीनामा र समर्थन फिर्ताको पत्र मुख्यमन्त्रीको कार्यालयमा दर्ता गर्न लागिएको एमाले दलका नेता राजेन्द्रसिंह रावलले बताए ।
एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार दुई महिना नपुग्दै अल्पमतमा परेको छ ।