काठमाडौँ । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ ।
सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ ।
“सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेकाले सोको पूर्ण परिपालना गर्नु,” विभागको निर्देशनमा उल्लेख छ ।
कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागको निर्देशन छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।
“सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्याका कारण सहकारी सङ्घसंस्था तथा सदस्यको व्यवसायसमेत प्रभावित भएको हुँदा यस क्षेत्रको पुनरुत्थानका लागि निर्देशन जारी गरिएको छ,” विभागका रजिस्ट्रार पीताम्बर घिमिरेद्वारा जारी निर्देशनमा भनिएको छ ।
आफ्ना सदस्यसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाहमार्फत सदस्यको विश्वास आर्जनमा केन्द्रित हुनेगरी काम गर्न पनि विभागले सहकारीलाई आग्रह गरेको छ ।
ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्नेतर्फ लाग्न पनि विभागको निर्देशन छ । आजको गोरखापत्र दैनिकबाट