महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण

15.3k Shares

काठमाडौं - पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् । उनले पार्टीको वर्तमान अवस्था र भविष्यबारेमा गम्भीर प्रश्न उठाउँदै प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेका हुन् ।

महामन्त्री ढकालनिकट नेताहरूका अनुसार सभापति लामिछानेले देश दौडाहाका क्रममा तयार पारिएको प्रतिवेदन स्वभाविक भए पनि त्यसबारे अनावश्यक प्रचारबाजी गरेको आरोप लगाएका छन् । प्रतिवेदनमा भएका कुराहरू ढकालले सुरूमै सञ्चारमाध्यममा फैल्याएको आरोप सभापति लामिछानेले लगाएका छन् ।

त्यही कुरा गलत भएको निष्कर्षसहित लामिछानेले ढकाललाई अनुशासन आयोगमार्फत स्पष्टीकरण पत्र काटेका हुन् । लामिछानेले पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोपसमेत ढकाललाई लगाएको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो । आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये मुख्य नेता थिए महामन्त्री डा. ढकाल ।

देश दौडाहा सकेर आएपछि महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए ।

सम्बन्धित समाचार