काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुईपटक संवाद भएको बताएका छन् ।
उनले दुबै देशका राज्यसंयन्त्र संवादमा रहेको जानकारी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए ।
“उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ,” उनले भने, “आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छाैँ मैले नै भनेको हो । म आफ्नो भनाइमा मात्र होइन काम गराइमा पनि इमान्दार भएर लागि परेको छु ।”