काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ। टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो।
मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो। यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो।
नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो।
उक्त कार्यक्रममै १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
एरिकालाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान गरिएको हो।