काठमाडौं । बालमन्दिर जग्गा लिजमा दिँदा भएको घोटलाको छानबिन गरेर मुद्दा दायरको प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रहरीले नै आलटाल गर्दै आइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालमन्दिर जग्गा लिजमा लिँदा घोटालामा संलग्न विशाल ग्रुपका व्यापारीलाई पक्राउ गर्न सकेको छैन ।
प्रहरीले सुरुमा पक्राउ पुर्जी जारी गरे पनि पछि राजनीतिक दबाबका कारण प्रहरी ठूला व्यापारीलाई छानबिन गर्न हच्किएको छ । सो घोटालामा संलग्न व्यक्तिको नाममा पक्राउ पुर्जी जारी भएपछि सीआईबीले हालसम्म एक जनालाई मात्रै पक्राउ गरेको थियो । पक्राउ परेका तुलसीनारायण श्रेष्ठलाई पनि दुई दिनपछि सामान्य तारेखमा छाडिदिएको छ ।
सीआईबीले गत २७ वैशाखमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंहसहित पूर्वपदाधिकारी तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपक दासलगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यस्तै बृहस्पति विद्यासदनका पूर्वसञ्चालक चिरञ्जीवी तिवारी, प्रवीणराज जोशी र मुरारी निधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेसहितलाई पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये संघाई, सिंघनिया र केडिया विशाल व्यावसायिक समूह विशाल ग्रुपसँग सम्बन्धित भएको र यही समूहले बालमन्दिरसँग जग्गा भाडामा लिएर बृहस्पति विद्यासदन चलाएको सीआईबीले जनाएको छ ।
बालमन्दिरको जग्गा भाडा अनियमितता काण्डमा उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले जग्गा लिजमा दिँदा अनियमितता भएको ठहर गरेको थियो । छानबिन आयोगले अनियमितता आंैल्याएपछि अख्तियार दुरूपयोग अनुसन्धान अयोगले पनि छानबिनमा चासो देखाएको भए पनि अहिले चुपचाप बसेको छ । आजको राजधानी दैनिकबाट