काठमाडौँ । नेपालका विभिन्न १८ जिल्लामा थन्काएर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने तयारी सुरु भएको छ । वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढाएको हो ।
मन्त्रीपरिषद् बैठकले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ उत्पत्ति भएको मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । यस पटकको निर्णयले २०६४ सालदेखि बरामद गरेर राखिएको रक्तचन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउने देखिएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता बद्रीराज ढुङ्गानाले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएलगत्तै मन्त्रालयलाई पत्र प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर पठाएको जानकारी दिनुभयो । “मन्त्रीपरिषद् बैठकबाट भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय भएपछि आइतबार मन्त्रालयलाई जानकारी भयो । हामीले सोमबार (आज) परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पठाएका छौँ,” उहाँले भन्नुभयो, “उहाँहरू (परराष्ट्र मन्त्रालय) ले नेपालमा रहेको भारतीय दूतावासलाई रक्तचन्दन फिर्ता लिन पत्र पठाउनुहुने छ । भारतबाट जति छिटो रक्तचन्दन फिर्ता लिन पत्र प्राप्त हुन्छ, त्यति छिटो जाने छ ।”
उहाँले सरकारले निर्णय गरेको ९० दिनभित्र नेपालको सीमा कटाएर रक्तचन्दन पठाइसक्नुपर्ने व्यवस्था रहेको बताउनुभयो । “यसअघि भारतले रक्तचन्दन लिने इच्छा देखाए पनि तयारी नपुगेको भनेर लिन सकेनन् । उनीहरूले रक्तचन्दन फिर्ता लिन गम्भीर छौँ भनेर पत्र लेखेर पठाएका छन्,” उहाँले भन्नुभयो, “भारतले जति छिटो तयारी गरेर पत्र पठाउँछ, त्यति छिटो रक्तचन्दन फिर्ता हुने छ ।” उहाँले नेपालका विभिन्न १८ जिल्लामा भएको रक्तचन्दन भारतले आफ्नै खर्चमा स्वदेश लैजाने तयारी गरेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट