इटाली नकआउट चरणमा 

17.1k Shares

 काठमाडौं । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोमामा भएको खेलमा जित निकाल्दै इटाली युरोकप फुटबलको यो संस्करणमा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली पनि बनेको छ । 

बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरे पनि ह्यान्डबल भएका कारण उनको गोलले मान्यता पाएन ।

२६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई  अग्रता दिलाए । ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए । जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ ।

यससँगै समूह ’ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । इटालीले २ खेलमा ६ अंक जोडेको छ ।
 

सम्बन्धित समाचार