इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने

16.4k Shares

काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो ।

पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ । 

इपिएस शाखाका निर्देशक मैयाँ कँडेलले एचआरडीको आग्रह अनुसार सन् २०२५ देखि माग सङ्ख्याको तीन गुणा मात्रै आवेदन सङ्कलन गरिने बताउनुभयो । माग सङ्ख्याको तीन गुणा बढी आवेदन परेसँगै ‘अटोमेटिक’ रूपमा आवेदन बन्द हुने गरी प्रणाली विकास गरिने पनि उहाँको भनाइ छ । आवेदनकर्ताको चाप निकै बढी हुने वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न आवेदन दिनेको सीमा तोक्नुपर्ने अवस्था आएको निर्देशक कँडेलले बताउनुभयो । 

साथै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर) का लागि एकै पटक आवेदन आह्वान गरिने छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन् । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार