धनगढी । नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् । सीमावर्ती भारतका बजारमा लागुऔषध सहज रूपमा उपलब्ध हुने भएकाले नेपाली प्रयोगकर्ताको अखडा बन्न थालेका हुन् । कैलाली र कञ्चनपुरका लागुऔषध प्रयोगकर्ता भारततर्फको सीमावर्ती बजार वनगाँवा र पलिया पुग्ने गरेका छन् । त्यहाँ पुग्ने युवकयुवती लागुऔषध प्रयोग गरी लट्ठिएर तथा बरालिएर हिँड्ने गरेको पाइएको छ ।
यसैबिच लागुऔषध प्रयोग गरी बेहोस अवस्थामा रहेका धनगढीका तीन युवतीलाई भारतीय प्रहरीले बुधबार पलियाबाट उद्धार गरी नेपालका सुरक्षा अधिकारीको जिम्मा लगाएको छ ।
लागुऔषध प्रयोग गरी लट्ठिएका युवतीलाई भारतीय सुरक्षाकर्मीले गौरीफन्टा नाका पुर्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहोराले बताउनुभयो । उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ । आजको गोरखापत्र दैनिकबाट